सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरत थापाविरुद्ध पाँचौ मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार थापासहितलाई प्रतिवादी कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको कसुरमा अख्तियारले थापासहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको हो। थापाविरुद्ध ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँ बिगो दाबी गरिएको छ।
सागरनाथ वन विकास परियोजनाअन्तर्गत पर्ने हाल भरत तालका रुपमा विकास गरिएको बागमती माछा पोखरी निर्माणका क्रममा वन पैदावर उत्खनन गरेर बेचविखन गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।
सात करोड ३८ लाख ९३ हजार ५०८ क्युफिट वन पैदावरको हुन आउने रोयल्टी/राजस्व रकम ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँबराबरको वन पैदावर उत्खनन गरी गराई कानुनबमोजिम उठाउनुपर्ने रोयल्टीसमेतको राजस्व एकापसमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, तत्कालीन निमित्त परियोजना प्रमुख देवेशमणि त्रिपाठी, रामकिशोर यादव, प्रेमीलालप्रसाद कलवार, तत्कालीन सहायक वन अधिकृतहरू चन्द्रकुमारी श्रेष्ठ, शिवेन्द्रप्रसाद चौधरी, कार्यालय प्रमुख जितेन्द्रकर्माचार्य र सहायक वन अधिकृत भोला यादवलाई प्रतिवादी कायम गरेको छ।
बागमती नगरपालिकाका तत्कालीन मेयर थापासहित तत्कालीन उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र तत्कालीन इन्जिनियर सागर पौडेल पनि मुद्दाका प्रतिवादी छन्।
तत्कालीन मेयर थापाविरुद्ध दायर भएको यो मुद्दा भने पाँचौँ हो। उनीविरुद्ध यसअघि नै चारवटा मुद्दा दायर भएका छन्। त्यसमा तीनवटा भ्रष्टाचारसम्बन्धी र एउटा वन मुद्दा छन्। दुईवटा मुद्दामा उनी दोषी ठहर भइसकेका छन्।