- सुदूरपश्चिमका १६ मध्ये पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीको नतिजाले प्रदेशमा कुन दल ठुलो हुने भन्ने निर्धारण गर्ने, नयाँ र पुरानाबिच प्रतिस्पर्धा
विगतका निर्वाचनको विरासत कायम राख्ने र नयाँ वर्चस्व बनाउने नयाँ–पुराना दलबिचको रक्साकस्सीले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा पेचिलो बनेको छ । माघको चिसोमा पनि दल र उम्मेदवारहरूको आक्रामक प्रचारले चुनावी माहोल भने तातेको छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलाली प्रदेशको अस्थायी र स्थायी राजधानी पनि हो । सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रमध्ये पाँचवटा निर्वाचन क्षेत्र रहेको यो जिल्लाको नतिजाले प्रदेशमा कुन दल ठुलो हुने भन्नेसमेत निर्धारण गर्न सक्छ । त्यहीकारण पनि यहाँ दलहरूले घरदैलोसँगै पार्टीको शीर्ष नेतृत्व बोलाएर चुनावी सभा गर्नेलगायत चुनावी प्रचारको रणनीति अपनाएको देखिन्छ ।
अहिले उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । कतिपय उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रकेन्द्रित रहेर प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन् । थारू समुदायको बाहुल्य रहेको कैलालीमा पाँचवटै निर्वाचन क्षेत्रमा प्रमुख दलहरूबिच नै जितका लागि प्रतिस्पर्धा हुने प्रारम्भिक आकलन छ । सुदूरपश्चिमका नौ जिल्लामा १७ लाख १६ हजार ६६० मतदाता रहेको कैलालीमा मात्र पाँच लाख ५१ हजार ५२ मतदाता छन् ।
कैलाली १ मा विरासत फर्काउने दाउमा कांग्रेस, एमाले र नेकपा
कैलाली १ मा कांग्रेस ०५६ र एमाले २०५१ को विरासत फर्काउने दाउमा छन् । यहाँ त्यसयताका संसदीय चुनाव यी दुई दलले जितेका छैनन् । नागरिक उन्मुक्ति पार्टीसँगको एकीकरणपछि नेकपा बलियो प्रतिस्पर्धी देखिएको छ । थारू मतदाताको बाहुल्य रहेको यो क्षेत्रबाट ०७४ को चुनावमा रेशम चौधरी फरार अवस्थामै निर्वाचित भएका थिए । रेशमको अग्रसरतामा गठित नागरिक उन्मुक्ति पार्टीको गत स्थानीय र संसदीय चुनावमा यहाँ बलियो प्रभाव देखिएको थियो । तर, नागरिक उन्मुक्ति अहिले छिन्नभिन्न अवस्थामा छ । जसको फाइदा उठाउँदै कांग्रेस–एमाले विरासत फर्काउने दाउमा छन् ।
नागरिक उन्मुक्ति नेकपामा समाहित हुँदा उसका केही नेता राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीमा लागेका छन् । रेशमले छुट्टै दल नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका छन् । कांग्रेसले तत्कालीन मधेशी जनअधिकार फोरमबाट २०७० मा संविधानसभा सदस्य निर्वाचित जनकराज चौधरीलाई र एमालेले द्वारिकाप्रसाद न्यौपानेलाई र नेकपाले उम्मेदवार बनाएको छ ।
यहाँ कांग्रेस, एमाले, नेकपा र रास्वपाका उम्मेदवार मुख्य प्रतिस्पर्धी देखिएका छन् । यद्यपि, गत चुनावको नजिताका आधारमा कांग्रेस र नेकपा प्रतिस्पर्धामा अगाडि छन् । यो क्षेत्रमा पाँच स्वतन्त्रसहित १७ जना प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी तत्कालीन माओवादीको समर्थनमा कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत र एमालेका तपेन्द्रबहादुर रावलले पाँच हजार ९१० मत पाएका थिए ।
कैलाली २ मा प्रमुख दलबाट नयाँ प्रतिस्पर्धी
कैलाली २ मा प्रमुख दलबाट उम्मेदवार बनेकाहरू प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ अनुहार हुन् । कांग्रेसबाट विजयबहादुर स्वाँर, एमालेबाट सूर्यबहादुर थापा, नेकपाबाट नन्दबहादुर साउद चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, रास्वपाले युवा अभियन्ता केपी खनाल र रेशमको नागरिक उन्मुक्ति पार्टी नेपालले पतिराम चौधरीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारबिच प्रतिस्पर्धा हुँदै छ ।
गत चुनावमा क्षेत्र नम्बर १, २ र ३ मा संघ र प्रदेश दुवैतर्फ नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको थियो । नागरिक उन्मुक्तिका अरुनकुमार चौधरी २१ हजार ८७१ मत ल्याएर निर्वाचित हुँदा निकटम प्रतिस्पर्धी एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मत पाएका थिए । कांग्रेसको समर्थन पाएका तत्कालीन माओवादीका भगतबहादुर बडुवालले १५ हजार ११६ मत पाएका थिए ।
कैलाली ३ मा नयाँ र पुराना उम्मेदवारबिच प्रतिस्पर्धा
कैलाली ३ मा कांग्रेस, एमाले र नेकपा नै प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन् । युवाहरूले खोजेको परिवर्तन र पुराना दलप्रतिको वितृष्णाको बलमा रास्वपाले पनि आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ । थारू मतदाताको बाहुल्य रहेको यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालको प्रभाव कस्तो रहला भन्ने विषय आमचासो छ ।
एमालेले पूर्वमाओवादी नेता गौरीशंकर चौधरीलाई यसपटक पनि उम्मेदवार बनाएको छ । ०७० र ०७४ मा यो क्षेत्रमा माओवादीबाट निर्वाचित चौधरी गत चुनावमा एमालेबाट उम्मेदवार बनेर पराजित भएका थिए । कांग्रेसले जिल्ला उपसभापति भीमबहादुर बडुवाल र नेकपाले पूर्वप्रदेश सभा सदस्य वीरमान चौधरीलाई उम्मेदवार बनाएको छ । रास्वपाबाट जगतप्रसाद जोशी र नागरिक उन्मुक्ति नेपालबाट विक्रम चौधरी प्रतिस्पर्धामा छन् ।
कैलाली ४ मा विरासत फर्काउन खोज्दै एमालेका भट्ट
यो क्षेत्रमा एमाले उपमहासचिव लेखराज भट्ट प्रमुख दलबाट संसदीय चुनावको पहिलो अनुभव लिइरहेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् । ०६४ यताका संसदीय चुनावमा क्षेत्र नम्बर ४ बाट जितहार व्यहोर्दै आएका उनी यसपटक विरासत फर्काउने दाउमा छन् । ०६४ र ०७४ चुनावमा जित हासिल गरेका पूर्वमाओवादी नेता भट्ट ०७० कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए । गत चुनावमा एमाले उम्मेदवार भट्टलाई कांग्रेसकै वीरबहादुर बलायरले पराजित गरे । अहिले कांग्रेसले गोरखबहादुर विष्टलाई उम्मेदवार बनाएको छ ।
कैलाली ५ मा पुरानालाई रास्वपाको चुनौती
प्रदेशको अस्थायी राजधानी र एकमात्र उपमहानगरपालिका पर्ने कैलाली ५ को जितलाई दलहरूको प्रतिष्ठासँग जोडेर हेरिएको छ । यसअघिका उपनिर्वाचनसहित आठवटा संसदीय निर्वाचनमध्ये पाँचपटक कांग्रेस, दुईपटक एमाले र एकपटक माओवादीले जित हासिल गरेको थियो । कांग्रेस अघिल्लो चुनावको जित जोगाउने र एमाले ०७४ को जित फर्काउने दाउमा छ । नेकपा पार्टी एकताको बलमा र रास्वपा युवा पुस्ताको लहरका आधारमा जितको खोजीमा छन् । यसअघि डोटीबाट चुनाव जित्दै आएका पूर्वमन्त्री प्रेमबहादुर आले कैलाली झरेका छन् । कांग्रेसले प्रदेश महामन्त्री नरनारायण शाह र एमालेले यज्ञराज ढुंगानालाई उम्मेदवार बनाएको छ । रास्वपाबाट आनन्दबहादुर चन्द प्रतिस्पर्धामा छन् । बौद्धिक व्यक्तित्व चन्द प्राध्यापन छाडेर चुनावी मैदानमा उत्रिएका हुन् । मतदाताले परिवर्तन चाहेकाले यहाँ सहजै जित हासिल गरेर इतिहास रच्ने रास्वपाको दाबी छ । प्रदेशको अस्थायी राजधानी र प्रमुख व्यापारिक केन्द्र धनगढी पर्ने भएकाले यहाँको चुनाव चौतर्र्फी चासोको विषय बनेको छ । गत चुनावमा तत्कालीन माओवादीको समर्थनमा कांग्रेसका डिल्लीराज पन्त १९९९९ मत ल्याएर निर्वाचित भएका थिए ।