३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले फैसला सुनाउँदै कैदमा केही थपघट गरेको छ । तीनजनाको हकमा कैद सजाय आधा बनाइएको छ । एकजनाको हकमा सजाय बढाउने फैसला भएको छ ।
उच्च अदालत विराटनगरका सूचना अधिकारी सन्तोष पोखरेलका अनुसार यस प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे र टेकराज मल्ल ठकुरी तथा लाक्पा शेर्पाको हकमा जिल्लाकै फैसला सदर भएको छ । जिल्ला अदालत मोरङले उनीहरूलाई २० वर्ष कैद सजाय सुनाएको थियो । ‘कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा केही उल्टी भएको छ । तीनैजना प्रतिवादीलाई जिल्लाले २० वर्ष कैद सजाय सुनाएकोमा १० वर्ष बनाइएको छ,’ पोखरेलले भने ।
यसैगरी भविन तामाङ, राजनकुमारको हकमा सुरु सदर अर्थात् तीन वर्ष कैदकै फैसलालाई उच्चले सदर गरेको छ । मदनप्रसाद घिमिरेको हकमा केही उल्टीको फैसला भएको उच्चले जनाएको छ । सूचना अधिकारी पोखरेलका अनुसार जिल्लाले उनलाई ६ महिना कैद सजाय सुनाएकोमा उच्चले त्यसलाई बढाएर तीन वर्ष पुर्याएको छ । ‘नेपाल सरकारचाहिँ जिल्लाले भन्सार ऐन र संगठित अपराध नियन्त्रणको ऐनमा दाबी नपुगेको भनेकाले त्यसविरुद्ध आएको थियो । तर, पुनरावेदन जिकिर नपुगेको फैसला भएको छ,’ पोखरेलले भने । अन्यको हकमा जिल्लाकै फैसला सदर भएको उनले बताए ।
आइतबार उच्चले यस विषयमा फैसला गरेको हो । उच्चमा यस घटनाका कुल नौ मुद्दा पुनरावेदनको रोहमा पुगेका थिए । यिनलाई अभियान फाँटमा राखी अदालत प्रशासनले पेसी चढाउने गरेकोमा अन्तिम निर्णय भएको हो । ०७८ माघदेखि ०७९ कात्तिकसम्म ६ वटा र ०८२ मा तीनवटा निवेदन दर्ता भएका थिए । यसमा चारवटामा केही उल्टी, एउटामा सुरु सदर र चारवटामा पुनरावेदन जिकिर नपुग्ने फैसला भएको हो ।
प्रहरीले सुरुमा ६३ जनालाई प्रतिवादी बनाउँदै आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासी गरेको अभियोग लगाएको थियो । यसैगरी, सातजनामाथि अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको अभियोगसमेत लगाइएको थियो । पूरक अभियोग लगी यस विषयमादुई मुद्दा जिल्लामा दर्ता भएका थिए ।