कांग्रेस काठमाडौं वडा नम्बर ८ का उपसभापति ओडारी रास्वपा प्रवेश

सोमबार, २७ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेस काठमाडौं महानगरपालिका– ८ का वडा उपसभापति कृष्ण ओडारी रास्वपा प्रवेश गरेका छन् । ओडारीसहित विभिन्न पार्टीका नेता–कार्यकर्तालाई रास्वपा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार पुकार बमले पार्टीमा स्वागत गरेका हुन् । 

रास्वपा प्रवेश गरेका ओडारीले देशले खोजेको परिवर्तन पुराना पार्टीबाट सम्भव नभएको र नयाँ पुस्ता सम्मिलित दललाई एकपटक मौका दिनुपर्छ भनेर कांग्रेस छोडेको बताए ।  ‘अहिलेको देशको परिस्थिति, नयाँ पार्टीको जन्म, पुराना पार्टीको बदमासीले गर्दा परिवर्तनलाई आत्मसात् गरेँ । मलगायत ५२ जना साथी आज रास्वपा प्रवेश गरेका छौँ । मलाई किन छुटाएको भन्ने पनि धेरै छन् । नयाँ पुस्तालाई एकचोटि हेराैँ । पढेलेखेका छन् के गर्छन्, परिवर्तनलाई साथ दिउँ भन्ने हो,’ उनले भने । ओडारीले नयाँलाई परीक्षण गर्न चाहेको बताए ।  ‘गगन थापा पार्टीको सभापति बन्नुभएको छ । तर, उहाँमा अब पनि परिवर्तन देखेको छैन । स्कुलिङ, संगत बुढापाकाकै छ । कांग्रेस सुध्रिने संकेत देखिएन,’ उनले भने,  ‘हिजो हाम्रा छोराछोरी आन्दोलनमा गए । गोली हानेर मारियो । त्यही दिनमा ज्यानमारा सरकारलाई साथ दिने पार्टीमा बस्दिनँ भनेर सोचेको थिएँ । अब पुकारजीलाई भनेका छौँ कि पाँच वर्ष सहयोग गर्छौँ । जनजीविकाको सवाल र स्थायित्व हामीलाई अनुभूति हिसाबको काम हुनुपर्छ ।’  

पार्टी प्रवेश गर्नेहरूमा कांग्रेसका स्थानीय पदाधिकारी, अन्य विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा स्वतन्त्र व्यक्तिहरू रहेका छन् । नवप्रवेशीहरूलाई स्वागत गर्दै रास्वपा उम्मेदवार बमले अबको राजनीति  ‘काम र डेलिभरी’ को हुने बताए । उनले पुराना दलहरूको कार्यशैलीबाट आजित भएका नागरिकहरूका लागि रास्वपा एउटा बलियो आशाको केन्द्र बनेको दाबी गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिनेहरूमा ओडारीसहित प्रदीप थापा, किरणकुमारी श्रेष्ठ, शशांक ओडारी, मानबहादुर थापा, सन्दीप मल्ल, रोज गुरुङ, शम्भु अधिकारी, सन्तोष पन्त, ओमकुमारी खड्गी र विक्रम खड्गी छन् । त्यसैगरी माया कर्मचार्य, सागर कर्मचार्य, निर्मला श्रेष्ठ, सूर्य श्रेष्ठ, सुनिता कर्मचार्य, राजेश सिग्देल, सुदर्शन पुरी, शेखर खड्गी, नवराज खड्गी, गगनजंग सिंह बगाले, ऋषिकेश पोखरेल र सुनिता कर्मचार्यलगायत प्रवेश गरेका छन् । 

अन्य सदस्यहरूमा सञ्जयकुमार राउत, सरोजकुमार शाह, अनिल कपाली, शिव कुइँकेल, विन्दु उप्रेती, कमला न्यौपाने, गीता कोइराला, रिनसन कोइराला, बिएन जोशी, नरेन्द्रप्रसाद शर्मा, उमेशप्रसाद शर्मा दाहाल, अञ्जु दाहाल, मीराकुमारी शर्मा, सञ्जय कुमार मौर्य र श्यामकृष्ण ताम्राकार छन् । सुनिता चन्द, रामशरण बानियाँ, नारायण केसी, सुष्मा थापा मगर, विनु आचार्य, मदन राउत, राज फौज, सन्ध्या फौज र राजु फौजलगायत ५२ जना सामूहिक रूपमा पार्टी प्रवेश गरेको ओडारीले बताए ।

See More On

सुझावित समाचार