कनेक्ट किसान र एनएएमपीबिच किसानलाई डिजिटल सल्लाह उपलब्ध गराउन सम्झौता

सोमबार, २६ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएमपी) र कनेक्ट किसान प्रालिबिच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। 

कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहाल र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठले सोमबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

यस सम्झौताको उद्देश्य नेपाली किसानलाई डिजिटल प्लाटफर्ममार्फत कृषिसम्बन्धी समस्या समाधानमा सजिलो बनाउनु हो। कनेक्ट किसानले विकसित गरेको भ्वाइस बेस र टेक्स्ट बेस एआई एडभाइजरी प्रविधिले किसानलाई खेतबारीमा प्रत्यक्ष सहायता पुर्याउनेछ। यो प्रणालीमा किसानले खेतीबारीमा काम गर्दा आउने समस्याजस्तै मल, बजार, रोग–किरा व्यवस्थापनको तत्काल समाधान वा सुझाव प्राप्त गर्न सक्ने बताइएको छ।

कनेक्ट किसानका निर्देशक राजन दाहालले भारतमा प्रविधिमैत्री किसानले एआईको प्रयोग गरेर उत्पादन वृद्धि गरिरहेका छन् भने नेपालमा पनि यस्ता प्रविधि प्रयोग गर्दा किसानलाई ठुलो फाइदा हुने बताए। उनका अनुसार किसानहरूले यदि नीतिगत समस्या वा बजारसँग सम्बन्धित चुनौती देखेका छन् भने वा खेतीमा रोग–किरासम्बन्धी अनुसन्धान आवश्यक छ भने उनीहरूले यी जानकारीहरू एआई प्रविधिको माध्यमबाट पठाउन सक्नेछन्। पठाइएको जानकारी संकलन गरी एनएएमपीले आवश्यक कदम चाल्न प्रयोग गरिनेछ। 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठले किसानलाई डिजिटल प्लाटफर्ममा पुर्याउन र समस्या समाधानमा सहयोग पुर्याउन कनेक्ट किसानसँग सम्झौता गरिएको बताए। 

यस समझौताको माध्यमबाट किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्य राखिएको छ। कृषि नीतिगत चुनौतीजस्तै बजारमा पहुँच नपाउनु, मल अभाव, रोग व्यवस्थापनजस्ता समस्याबारे एआई प्रणालीमा डेटा बनाइने र भविष्यमा त्यसको आधारमा समाधानको योजना तयार पारिने निर्देशन श्रेष्ठले बताए।

सुझावित समाचार