नेपालमा ९६.७ प्रतिशत घरपरिवार विद्युत् सेवाको पहुँचमा पुगेका छन्। सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण ०८१/८२ ले यस्तो देखाएको हो।
प्रदेशगत आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम घरपरिवार विद्युतकाे पहुँचमा छन्। गण्डकीका ९९.५ प्रतिशत र कर्णालीका ८०.८ प्रतिशत घरपरिवार विद्युतको पहुँचमा रहेका सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणअनुसार ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोनको सुविधा छ। यो तथ्यांकमा स्थिर टेलिफोन वा मोबाइल फोन दुवैलाई समेटिएको छ। बागमतीमा सबैभन्दा धेरै (९७.१ प्रतिशत) र सुदूरपश्चिममा सबैभन्दा कम (९२.६ प्रतिशत) घरपरिवार टेलिफोन सुविधाको पहुँचमा रहेको देखिएको छ।