परीक्षा नै नदिएका र फेल भएका १८ चालकलाई लाइसेन्स जारी गर्ने यातायातका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण

लिखित र ट्रायल नै नदिएका तथा फेल भएका १८ जना सवारीचालकलाई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने यातायात कार्यालयका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष ०७५/७६ मा प्रयोगात्मक परीक्षा (ट्रायल) नतिजा (फिल्ड) रिपाेर्टमा फेल तथा अनुपस्थित जनाइएका १८ जना व्यक्तिका नाममा ‘ए’ (मोटरसाइकल/स्कुटर) र ‘ई’ (ट्रयाक्टर) वर्गका लाइसेन्स जारी गरेको खुलेपछि अख्तियारले त्यसमा संलग्न कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो।

परीक्षा समितिको अध्यक्षको रूपमा रही यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदनप्रसाद देवकोटा, परीक्षा समितिका सदस्यहरू मेकानिकल सुपरभाइजर शम्भु दाहाल र जिल्ला प्रहरी कार्यालय जुम्लाका तत्कालीन प्रहरी नायब निरीक्षक (सइ) गंगाराम विकलाई प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध विदेशमा रहेका व्यक्तिका नाममा लाइसेन्स जारी गर्न सिफारिस गरी लाइसेन्स जारीसमेत गरेको, ट्रायल नतिजामा फेल जनाइएकोमा कम्प्युटर प्रविष्टमा सम्पादन गरी फेल नतिजालाई पास बनाएर लाइसेन्स जारी गरेको आरोप छ ।

विदेशमा रहेका व्यक्ति शालिकराम भण्डारीको नाममा ‘ए’ वर्गको लाइसेन्स जारी भएको थियो । भण्डारी १९ भदौ ०७० देखि २३ भदौ ०७५ सम्म वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा थिए । उनलाई २० साउन ०७५ गतेको लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल)मा पास गराइएको भेटिएको छ । त्यसका आधारमा पाँच दिनपछि २५ साउनमा भण्डारीको नाममा ‘ए’ वर्गको लाइसेन्स जारी गरेको भेटिएको छ । लिखित परीक्षा र ट्रायल तथा लाइसेन्स जारी हुँदा उनी मलेसियामै थिए ।

ट्रायलमा फेल जनाइएका शिवबहादुर क्षेत्रीलाई ‘ई’ वर्ग (ट्रयाक्टर)को लाइसेन्स दिलाइएको थियो । ट्रायलमा उपस्थित नै नरहेका हिमाल बोहोराको लाइसेन्ससमेत जारी भयो । ट्रायलमा फेल जनाइएका अंकबहादुर शाही, शान्ताकुमारी चौलागाईं, प्रेमप्रसाद उपाध्याय, मेघराज डाँगी, मीनबहादुर मल्ल, सरस्वती भुर्तेल, सबिका दाहाल, दीपक शाही, रेशम अधिकारी, नेत्रकला जैसी, आस्था भट्टराई, कुंगसन्डुप लामा, विकास खत्री, आरती न्यौपाने, लोकेन्द्र मल्ल, ताराबहादुर थापासमेत अरू १६ जनाको लाइसेन्स जारी भएको देखिएको छ । 

‘१८ जनालाई प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरी फेल–अनुपस्थित भएको जनाइएको कम्प्युटर प्रविष्टिमा आफ्नो युजर आइडी प्रयोग गरी–गराई, विवरणमा थपघट गरी अभिलेख परिवर्तन गरेर पास जनाई सवारीचालक अनुमतिपत्र जारी गरे–गराएको तथ्य स्थापित भयो,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ । यातायात कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख देवकोटाले फेल भएको नतिजालाई पास भनी कम्प्युटर युजर आइडीबाट सच्याएको अख्तियारको दाबी छ । आफूलाई गैरकानुनी लाभ पुर्याउने बदनियतले यातायात व्यवस्था कार्यालय तथा विभागसमेतका कर्मचारी तथा सार्वजनिक निकायका विद्युतीय एवं कागजातका अभिलेखमा परीक्षाको परिणाम अनाधिकार एवं गैरकानुनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने र हेरफेर गर्ने गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ र यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० (संशोधनसहित)लगायतको प्रचलित कानुनमा निर्दिष्ट गरिएबमोजिमका व्यवस्थाको प्रतिकूल सवारी लाइसेन्स जारी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । ‘लिखित तथा प्रयोगात्मक परीक्षाहरू स्वच्छ, मर्यादित र व्यवस्थित ढंगले सञ्चालन नगरी–नगराई राष्ट्रसेवक प्रतिवादीहरूले बदनियत राखी विदेश मलेसियामा रहेका निज शालिकराम भण्डारीको नाममा यातायात व्यवस्था कार्यालय जुम्लाबाट ‘ए’ वर्गको सवारीचालक अनुमतिपत्र जारी गरे–गराएको तथ्य पुष्टि भयो,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

सुझावित समाचार