पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका– ६, महादेवबेँसीनजिकै दुईवटा यात्रुबस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौं आउँदै गरेको प्रदेश ३ –०१००६ ख १५५२ नम्बरको बस एक–आपसमा ठोक्किँदा चिया पिउँदै गरेका एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक दाहालका अनुसार ठक्करपछि बस अनियन्त्रित भएर सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा चिया पिउँदै गरेका ३५ वर्षीय सुजन तामाङको ज्यान गएको हो । दुर्घटनामा परी घाइते भएका चियापसले खगेश्वर शर्मा र बसमा सवार सफलता पुलामी घाइते भएका छन् । शर्माको बिएनबी अस्पतालमा उपचार भइरहेको उनले बताए ।