जन्तेढुंगा गाउँपालिका– ६, दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङनिवासी रामकुमार राईको घरमा शिविर राखेर उपचारको प्रबन्ध मिलाइएको हो ।
विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशंका गरिएको स्थानीय वीरबल किराँतीले बताएका छन् । यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी भोलिपल्ट अर्थात् माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् । विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।
शिविरमा स्वास्थ्यमा समस्या आएका स्थानीय उपचारका लागि आउने र जानेक्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गरेर उपचारको प्रबन्ध मिलाएको हो ।
भोज खाएर फर्किएका उदयपुर, काठमाडौंलगायतका पाहुनासमेत बिरामी परेको खबर आएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिएकी छिन् । ‘शिविरमा अहिले पनि ३५ जनालाई स्लाइनपानी र औषधि दिएर उपचार गरिरहेका छौँ । विवाह भोज खाएका सबै बिरामी भएका छन्,’ उनले भनिन्, ‘विवाहमा करिब दुई सयजनाले भोज खाएको अनुमान गरिएको छ । शिविर सञ्चालन गरेपछि सबैतिरबाट फोन आउन थालेको छ । उनीहरूको उपचारको व्यवस्था मिलाउन पहल भइरहेको छ ।’
गाउँपालिकाले दिएको जानकारीअनुसार विवाह भोज खाएकाजति सबै स्थानीय बिरामी परेका छन् । बिरामी परेर उपचारका लागि शिविरमा ल्याइएका धेरैजसो बिरामी उपचारपछि घर फर्किएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । विवाह भोजमा भएको ‘फुडपोइजन’को कारण पत्ता लगाउने प्रयास भइरहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताए । ‘विवाह भएको धेरै दिन भएकाले भोजको स्याम्पल संकलन गर्न सकिने अवस्था छैन । भोज खाएर काठमाडौं गएका एकजना बिरामीलाई टेकु पठाएका छौँ,’ उनले भने, ‘फुडपोइजनले धेरै दुर्घटना हुन सक्छ । जन्तेढुंगामा बिरामी पहिचान भएलगत्तै औषधि उपचार सुरु गरिएकाले ठुलो घटना नहोला भन्नेमा हामी विश्वस्त छौँ ।’
बिरामीकाे चाप बढ्दै गएपछि आधारभूत अस्पतालमा समेत उपचारको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । प्रभावित क्षेत्रबाहिरका तथा जटिल किसिमका बिरामीलाई आधारभूत अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको हो ।