२१ फागुमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीका दुई दाबेदारसँगै निवर्तमान सभामुख र उपसभामुखको प्रतिस्पर्धाले झापामा चुनावी रौनक बढेको छ । हेभिवेट उम्मेदवारको भिडन्तले झापा ‘इलेक्सन इपिसेन्टर’ बनेको छ । अहिले झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारले भेटघाट तीव्र पारेका छन् । झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ आमनेसामने छन् ।
एमालेले ओली र रास्वपाले शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिएका छन् । त्यस्तै, झापा २ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना चुनावी मैदानमा छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापाबाटै उम्मेदवार छन् । ०७९ को चुनावमा झापामा एमाले र राप्रपा तथा कांग्रेस, तत्कालीन माओवादी र एकीकृत समाजवादीले गठबन्धन गर्दा मिश्रित परिणाम आएको थियो । चुनावमा एमालेले तीन तथा कांग्रेस र राप्रपाले एउटा–एउटा सिट जितेका थिए । यसपटक दलहरू एक्लाएक्लै चुनावी मैदानमा छन्, दलहरूको शक्ति परीक्षण हुनेछ ।
पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा छन् । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता छन् । जसमा ५० हजार २२६ मतदाता थपिएका हुन् । झापामा कुल २८५ मतदानस्थल र ८१५ वटा मतदान केन्द्र छन् ।
झापा १ मा मुख्य दलका नयाँ प्रतिस्पर्धी
०७९ को निर्वाचनमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित भएको झापा १ मा यसपटक मुख्य दलबाट नयाँ प्रतिस्पर्धी छन् । शर्माले आफ्नो ठाउँमा केशवराज पाण्डेलाई अघि सारेका छन् । शर्मासँग पराजित भएका एमालेका अग्निप्रसाद खरेल पनि यसपटक मैदानमा छैनन् । एमालेबाट रामचन्द्र उप्रेती, रास्वपाबाट निशा डाँगी, नेकपाबाट अशेष घिमिरे, राप्रपाबाट हेमराज कार्कीसहित १५ उम्मेदवार छन् ।
०७९ मा शर्माले ३९ हजार ६२४ मत ल्याउँदा खरेलले ३५ हजार ३४९ र भण्डारीले आठ हजार ५६४ मत ल्याएका थिए । कांग्रेससँग गठबन्धन गरेको तत्कालीन माओवादी (हाल नेकपा) र एमालेसँग गठबन्धन गरेको राप्रपाले भने यो क्षेत्रमा उम्मेदवार उठाएको थिएन ।यस क्षेत्रमा ०७९ को निर्वाचनमा समानुपातिकतर्फ कांग्रेस नै पहिलो भएको थियो । कांग्रेसले २५ हजार ४२० मत प्राप्त गर्दा एमालेले २२ हजार ५४७, रास्वपाले १३ हजार ७५०, माओवादीले पाँच हजार ५७ र राप्रपाले पाँ हजार ५८ मत प्राप्त गरेका थिए ।
झापा २ मा निवर्तमान सभामुख र उपसभामुख आमनेसामने
२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आमनेसामने छन् । घिमिरे एमाले र राना रास्वपाबाट उम्मेदवार हुन् । घिमिरे ०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रबाट कांग्रेसका सरिता प्रसाईं, नेकपाका धर्मशीला चापागाईं, राप्रपाका भद्रप्रसाद नेपालसहित १८ जना चुनावी मैदानमा छन् । नेपाल अघिल्लोपटक स्वतन्त्र उम्मेदवार छँदा दोस्रो बनेका थिए । घिमिरे २८ हजार ७१६ मतसहित विजयी हुँदा नेपालले २६ हजार ४५५ मत पाएका थिए । तत्कालीन माओवादका हरिकुमार रानामगरले १३ हजार ९३० मतल्याउँदा रास्वपाका गिरीले ८ हजार ७८१ मत पाएका थिए ।
समानुपातिकतर्फ झापा २ मा एमाले २६ हजार ४९० मतसहित पहिलो दल बन्दा रास्वपा २२ हजार ५१७ मतसहित दोस्रो बनेको थियो । कांग्रेसले १५ हजार ४९८, माओवादीले तीन हजार ८६९ र राप्रपाले सात हजार ८८० मत ल्याएका थिए । यसपटक यस क्षेत्रमा एक लाख ४७ हजार ५२२ मतदाता छन् । ४९ मतदानस्थल र १६५ मतदान केन्द्र छन् ।
झापा ३ मा लिङ्देनलाई ह्याट्रिक दाउमा चुनौती
झापा ३ मा विगतमा राप्रपा र एमालेबिच तथा कांग्रेस र माओवादी चुनावी तालमेल गर्दै आएका थिए । तर, यसपटक दलहरू एक्लाएक्लै चुनावी मैदानमा छन् ।
०७४ र ०७९ मा जितेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यसपटक ह्याट्रिकको दाउमा छन् । दुवैपटक निकटमत प्रतिस्पर्धी रहेका कांग्रेसका कृष्णप्रसाद सिटौला यसपटक चुनावी मैदानमा छैनन् ।
कांग्रेसले राजेन्द्रकुमार घिमिरेलाई उम्मेदवार बनाएको छ । एमालेबाट हरिबहादुर राजवंशी, नेकपाबाट डिल्लीराम घिमिरे, रास्वपाबाट प्रकाश पाठकसहित १७ जना मत परीक्षणका लागि चुनावी मैदानमा छन् । अघिल्लो चुनावमा लिङ्देन ४० हजार ६६२, सिटौलाले ३७ हजार ३८६ र पाठकले तीन हजार ४६१ मत पाएका थिए । समानुपातिकतर्फ कांग्रेस २५ हजार ५३५ मतसहित पहिलो बनेको थियो । राप्रपाले १९ हजार ७४३, एमालेले १९ हजार ४६०, रास्वपाले सात हजार ८१२ र तत्कालीन माओवादीले सात हजार ५९५ मत पाएका थिए । यस क्षेत्रमा हाल एक लाख ४० हजार ८५७ मतदाता छन् । जसमा नौ हजार ४२५ जना नयाँ मतदाता हुन् । ६७ वटा मतदानस्थल र १६४ वटा मतदान केन्द्र कायम छन् ।
झापा ४ मा मुख्य दलका पुरानै प्रतिस्पर्धी
यस क्षेत्रमा एमालेबाट लालप्रसाद साँवा, कांग्रेसबाट देउकुमार थेबे, रास्वपाबाट शम्भुप्रसाद ढकाल उम्मेदवार छन् । उनीहरू ०७९ को निर्वाचनमा पनि प्रतिस्पर्धी थिए । चुनाव भने एमालेले जितेको थियो । त्यस्तै, नेकपाबाट पुरुषोत्तम चुडाल, राप्रपाबाट भक्तिप्रसाद सिटौलासहित १६ जना चुनावी मैदानमा छन् । अघिल्लोपटक साँवा २९ हजार ३१५ मतसहित विजयी हुँदा कांग्रेसका थेबेले २२ हजार ४४८ मत पाएका थिए । रास्वपाका ढकालले १४ हजार ६९ मत पाए ।
समानुपातिकमा एमालेले २३ हजार ४११, कांग्रेसले १७ हजार ३७४, रास्वपाले १५ हजार १६०, तत्कालीन माओवादीले ६ हजार ४६५ र राप्रपाले ६ हजार ४१५ मत ल्याएका थिए । यसपटक यस क्षेत्रमा एक लाख ३० हजार ७१२ जना मतदाता छन् । यसमा सात हजार ५८८ नयाँ मतदाता हुन् । ६३ मतदानस्थल र १८५ मतदान केन्द्र छन् ।
झापा ५ मा ओलीको बिरासतमा बालेनको चुनौती
निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा होमिएका एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनको उम्मेदवारीले यो क्षेत्र इलेक्सन इपिसेन्टर बनेको छ । ०४८ यताका सबै निर्वाचनमा ओलीले प्रतिस्पर्धा गरेको यो निर्वाचन क्षेत्रमा यसपटक बालेनले चुनौती दिएका छन् । ओली र बालेनबिच यसपटक यो क्षेत्रमा प्रतिष्ठाको लडाइँ हुँदै छ । ०४८ यता ०६४ को निर्वाचनमा मात्र पराजित भएका ओलीका लागि यो क्षेत्र यसपटक चुनौति बनेको छ ।
अघिल्लो चुनावमा राप्रपासँग तालमेल गरेर चुनावी मैदानमा होमिएका ओली यसपटक तालमेल र गठबन्धनविना नै चुनावी मैदानमा छन् । त्यस्तै, कांग्रेसबाट मन्धरा चिमरिया, नेकपाबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौलासहित २४ जना चुनावी मैदानमा छन् । एक लाख ६३ हजार ३७९ मतदाता छन्, जसमा नौ हजार ९० नयाँ मतदाता थपिएका हुन् । ६१ मतदानस्थल र १८५ मतदान केन्द्र छन् ।
०७९ को निर्वाचनमा ओली ५२ हजार ३१९ मतसहित विजयी हुँदा प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए । यद्यपि, त्यतिखेर ओलीलाई राप्रपाको साथ थियो । रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत ल्याएका थिए । समानुपातिकमा एमालेले ३५ हजार ८७२, रास्वपाले १८ हजार २०५, १६ हजार ८५९, तत्कालीन माओवादीले आठ हजार ६८० र राप्रपाले सात हजार ३७० मत ल्याएका थिए ।
यसपटक रणनीति बदलेका छौँ
प्रेम गिरी, एमाले झापा अध्यक्ष
यसपटक विगतभन्दा भिन्न रणनीति छ । संगठन सशक्त रहेकाले एकताबद्ध बनाएर अगाडि बढेका छौँ । मतदाता शिक्षालाई जोड दिएका छौँ । कार्यकर्तापंक्तिले मतदातासँग भेटघाट गरिरहेको छ । हामी डिजिटल होइन, फिजिकल मत माग्छौँ । यसपटक झापाका पाँचवटै निर्वाचन क्षेत्र जितेर पुरानो बिरासत फर्काउँछौँ ।
हाम्रो मत सुरक्षित गर्दा विजय निश्चित छ
कृष्ण हुमागाईंं, कांग्रेस झापा सचिव
आन्तरिक बैठक, प्रशिक्षण र छलफलमा व्यस्त छौँ । केही असन्तुष्ट कार्यकर्ता फकाउने, अरू पार्टीका असन्तुष्ट कार्यकर्तालाई आफूतिर तान्ने काम गरिहेका छौँ । कांग्रेस एक ढिक्का छ । हाम्रो मत मात्र सुरक्षित गर्दा पनि धेरै ठाउँमा जित हुन्छ । आचारसंहिताअनुसार मत माग्ने समय भएपछि डिजिटल र प्रत्यक्ष मतदाता भेटेर माग्छौँ ।
जनताले मत परिवर्तन गर्ने भन्नुभएको छ
ओमनाथ भण्डारी, रास्वपा निर्वाचन परिचालन जिल्ला समिति संयोजक
झापामा बालेन शाह आएपछि निर्वाचनको रौनक बढेको छ । पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपा एक नम्बरको प्रतिस्पर्धीका रूपमा आमजनताले हेर्नुभएको छ । गाउँ–गाउँमा जाँदा मतदाताले यसपटक मत परिवर्तन गर्ने भन्नुभएको छ । आन्तरिक मत सर्वेक्षणले पनि यही देखाएको छ । चितवनपछि झापा रास्वपाको संगठनमा अब्बल जिल्ला हो । टोलसम्म कमिटी र वडासम्म निर्वाचन परिचालन समिति छ ।
मतदाताले राम्रो प्रतिक्रिया दिनुभएकोे छ
झलकसिंह दर्लामी, नेकपा केन्द्रीय सदस्य
उम्मेदवार मतदातासँग भेटघाटसँगै आन्तरिक बैठक, निर्वाचन परिचालनको तयारी बैठकमा हुनुहुन्छ । हामी एक्लै चुनावी मैदानमा जाँदा मतदाताबाट राम्रो प्रतिक्रिया आएको छ । सरकारमा हुँदा सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध पार्टीले चालेको कदमलाई राम्रो प्रतिक्रिया दिनुभएको छ ।
हाम्रा लागि जनमतसंग्रह हो
केशव ओझा, राप्रपा झापा अध्यक्ष
सम्पर्क कार्यालय स्थापनासँगै मतदाता शिक्षा चलाइरहेका छौँ । पार्टीले घोषणापत्र तयार गरिरहेको छ । त्यसलाई लिएर जनतामाझ जान्छौँ । हाम्रा लागि परिस्थिति पनि राम्रो छ । मुद्दा र एजेन्डाका लागि यो जनमतसंग्रहजस्तै हो । नागरिकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छौँ । यसपटक झापामा संख्या वृद्धि गर्छौँ ।