बैतडी बस दुर्घटनामा ज्यान गुमाएकामध्ये आठको सामूहिक दाहसंस्कार

जन्तीबस दुर्घटना हुँदा जोशी परिवारकै सात सदस्य तथा ६ जना आफन्त, इष्टमित्रको गएको थियो ज्यान

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण
बैतडी बस दुर्घटनामा ज्यान गुमाएकामध्ये आठको सामूहिक दाहसंस्कार

दुर्घटनामा ज्यान गुमाएकामध्ये आठजनाको शनिबार कालंगा आर्यघाटमा सामूहिक दाहसंस्कार गरिँदै ।

बैतडीको पुर्चाैडी नगरपालिका– ७, बडूगाउँको घुम्तीमा बिहीबार रातिको बस दुर्घटनामा ज्यान गुमाएका १३ मध्ये आठजनाको शनिबार सामूहिक दाहसंस्कार गरिएको छ । एउटै गाउँ, बझाङको बित्थडचिर गाउँपालिका– ७ लगुनासाका जोशी परिवारका आठजनाको कालंगा आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको हो । डडेल्धुरा अस्पतालमा शव परीक्षणपछि शुक्रवार साँझ गाउँ ल्याइएकामा शनिबार कालंगा नदीमा अन्त्येष्टि गरिएको आफन्त उत्तम जोशीले बताए । शवयात्रामा सयौँ स्थानीयको सहभागिता थियो । 

बेहुली भिœयाएर विवाहको खुसियाली मनाउनुपर्ने आँगनबाट आठजनाको शवयात्रा सुरु गर्नुपर्दा लगुनासा गाउँ शोकमग्न छ । ‘कल्पनै गर्न नसकिने घटना भयो । यति कहालीलाग्दो घटना सुनेको थिइनँ, भविष्यमा सुन्न पनि नपरोस्,’ उनले भने ।

बित्थडचिर गाउँपालिका– ७ का ७८ वर्षीय नन्दलाल जोशीका पाँच भाइ छोरामध्ये जेठा छोरा शंकरदत्त जोशीका माइला छोराको विवाहको गाडी बिहीबार दुर्घटनामा परेको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा नन्दलालका छोरा नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी तथा नाती वसन्तराज जोशी छन् । त्यस्तै, जोशीखलका बाबुछोरा केशवराज जोशी र अशोकराज जोशी, सहोदर दाजुभाइ किसनदत्त जोशी र विसनदत्त जोशी तथा आफन्त दीपकराज जोशीको ज्यान गएको थियो । दुर्घटनामा परेर जोशी परिवारकै सातजना सदस्य तथा ६ जना आफन्त, इष्टमित्रको ज्यान गएको थियो । 

बेहुलाबेहुलीसहित केही आफन्त अर्काे जीपमा रहेकाले सकुशल छन्  । तर, बेहुलाका बुवासहित ३५ जना घाइते भएका थिए । घाइतेको डडेल्धुरा र धनगढीमा उपचार भइरहेको छ ।यसैगरी, बेहुलीका भाइ सुशील र आफन्त पुष्पा अवस्थीको बैतडी पुर्चौडी नगरपालिका– ७ स्थित राताशीला आर्यघाटमा दाहसंस्कार भएको छ । सोही दुर्घटनामा ज्यान गुमाएका केदारस्यु गाउँपालिका– ७ का मोहनदेव भट्ट र केशवराज भट्ट तथा बझाङ जयपृथ्वी नगरपालिका– ७ का वसन्तराज रतलाको बागथला आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

सुझावित समाचार