सल्यानका नागरिकले उम्मेदवारलाई र्‍याखर्‍याख्ती पारे

कविराज रोकाय भन्छन् – निवार्चनमा उम्मेदारले जनतासामु गरेका बाचा पुरा नगरे तपाईहरुलाई के गर्ने ?

शनिबार, २५ माघ, २०८२
डिजिटल संस्करण

२१ फागुनको प्रतिनिधिसभाका उम्मेदवारहरू मतदाताको घरदैलोमा व्यस्त छन्। दलका उम्मेदवार पार्टी संयन्त्रमार्फत गाउँगाउँ पुगिरहेका वेला स्वतन्त्र उम्मेदवार पनि आफ्ना समर्थक, शुभचिन्तक, साथी समूहको प्रयोग गर्दै आफ्नो सक्रियता बढाइरहेका छन्। यसपटक भोट माग्न घरदैलोमा आएका उम्मेदवारसँग नागरिकले भावी योजना र एजेन्डा खोजेका छन्।

शनिबार श्रीनगरमा सल्यानी युवा सञ्जालले आयोजना गरेको सल्यान संवाद जनताको सवाल उम्मेदवारको जवाफ कार्यक्रममा नागरिकले उम्मेदवारलाई आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, सडक, कृषि बेरोजगारीलगायतका विषयमा उम्मेदवारलाई खरा प्रश्न सोधेर र्याखर्याख्ती नै पारे । विगतमा भन्दा यसपटकको चुनावमा मतदाता सचेत र जागरुक देखिएका छन्। उनीहरूले उम्मेदवारले प्रतिबद्धता मात्र व्यक्त गर्ने होइन कि उक्त प्रतिबद्धता पूरा हुने योजनासमेत माग गरे।

‘विगतमा गाउँमा पूर्वाधारको विकास थिएन मानिस थिए। अहिले पूर्वाधार गाउँमा पुग्यो, तर मानिस छैनन्। आफ्नै गाउँघरमा नागरिक फर्काउन उम्मेदवारको योजना के छ?’  बागचौर नगरपालिका ३ रातपहराका इन्द्रबहादु भण्डारीले प्रश्न गरे। यस्तै, सल्यानका किसानहरूले उत्पादन गरेको कृषिजन्य वस्तुको उचित मूल्य कहिले पाउछन् र सल्यान कृषिमय जिल्ला कहिले हुन्छ ? भनेर प्रश्न गरेका छन् । यस्तै, शारदा नगरपालिका २ का कविराज रोकायले निवार्चनमा उम्मेदारले जनतासामु गरेका वाचा पूरा नगरे तपाईंहरूलाई के गर्ने। शारदा नगरपालिका १४ का नागरिक प्रदीप भण्डारीले विकास निर्माणमा किन राजनीतीकरण हुन्छ? भनेर प्रश्न गरेका छन्। सरकारी निकायदेखि हरेक क्षेत्रमा राजनीतिक गन्ध आउँदा विकासले गति लिन नसकेको बताउँदै सर्वसाधारण जनता  त्यसबाट प्रत्यक्ष मारमा परेको बताए।

जवाफमा उम्मेदवारहरूले जिल्लाका समस्याहरूलाई प्राथमिकीकरण गरेर समाधान गर्नुपर्ने बताए। नागरिकको प्रश्नको जवाफ दिँदै नेकपाका उम्मेदवार रमेशकुमार मल्लले जिल्लाका तमाम समस्याबिच ती समस्यालाई प्राथमिकीकरण गरेर जान सके मात्र निकास निकाल्न सकिने बताए। पूर्वाधारका क्षेत्रमा केही काम गरेको बताउँदै मल्ले त्यसलाई आधार बनाएर अघि बढ्छौँ। यस्तै, स्वतन्त्र उम्मेदवार ध्रुवराज वलीले युवालाई सिपमा जोड्दै आफ्नै माटोमा जीवन सक्ने बनाउनुपर्ने बताए। 

सुझावित समाचार