शुक्रबारबाट सम्पर्क कार्यलयहरूको उद्घाटन र कार्यकर्तासँग छलफल थालेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शनिबार पनि यसलाई निरन्तरता दिएका छन् । शनिबार उनले चितवन क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका १० वटा वडामा सम्पर्क कार्यालयको स्थापना र कार्यकर्ताहरूसँग छलफल गरेका छन् । यस क्रममा बोल्दै उनले अबका दिनमा भ्रष्टाचार स्वीकार्य नहुने सन्देश दिए ।
उनले अहिलेको लडाइँ भनेको भ्रष्टाचारीहरू र सुशासन चाहानेहरूका बिचको भएको बताए । भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्ने भए आगामी प्रतिनिधिसभा निर्वाचनमा दुवै भोट घण्टीमा दिन आग्रह गरे । ‘यदि भ्रष्टाचार राख्ने हो भने राख्नुस्, मलाई केही भन्नुछैन,’ उनले भने, ‘तर सबै भ्रष्टाचार फाल्ने हो भने दुईवटै भोट घण्टीमा हाल्नुस् ।’ घण्टी चुनाव चिह्नले काम नगरे विकल्प खोजिने पनि उनले बताए । ‘घण्टीले काम गरेन भने मै सोचौँला नि । पाँच वर्षको स्थायी सरकार बनाएर त्यो स्थायी सरकारले पनि जनताको वाचा पूरा गरेन भने यसरी नाक ठड्याएर चोकमा उभिने साहस होला र मेरो ? कसैले घण्टीमा सदस्यता लिनुभएको छ भने च्यातिदिए हुन्छ,’ उनले भने, ‘काम नगर्ने मान्छेलाई किन पाल्ने ? अर्को विकल्प आउँछ ।’
सभापति लामिछानेले लोकतन्त्र जोगाउने ठेक्का ठुला दलहरूले लिएकोजस्तो देखिने गरेको टिप्पणी पनि गरे । जनताले ल्याएको लोकतन्त्र जनताले नै जोगाउने उनको भनाइ थियो । कुनै दल र नेताले लोकतन्त्रको ठेकेदार आफैँ भएजस्तो गर्नुपर्ने आवश्यकता नभएको उनले बताए । ‘लोकतन्त्रको चिन्ता गर्छन् यहाँ ठुला दलहरू, कत्ति न उनीहरूले ठेक्का पाएजस्तो। लोकतन्त्र कुनै नेताले वा पार्टीले जोगाएको होइन, जनताले जोगाएका हुन्,’ उनले भने, ‘जनताले नै लोकतन्त्र जोगाउँछन्।’
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै उनले लोकतन्त्र अब खतरामा नरहेको दाबी पनि गरे। ‘लोकतन्त्रको खतरा हेलिकोप्टर चढेर भाग्यो, अब खतरा छैन,’ उनले भने, ‘तर फेरि त्यो हेलिकोप्टर बालुवाटार वा सिंहदरबारमा ल्यान्ड भयो भने लोकतन्त्र ठुलो खतरामा पर्छ।’ यस्तो अवस्था आउन नदिन जनताले नै लोकतन्त्र जोगाउनुपर्ने उनको भनाइ थियो।
शनिबार नै चितवनमा रहेका गोरखाका मतदातासँग पनि रास्वपा लामिछानेले छलफल एवं भेटघाट गरेका छन्। उक्त अवसरमा उनले रास्वपाका उम्मेदवार सुदन गुरुङको पनि प्रशंसा गर्दै जित दिलाउन आग्रह गरे। सुदन गुरुङ देशलाई निश्वार्थ माया गर्ने मान्छे भएकाले सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो। ‘सुदन गुरुङ देशलाई माया गर्ने मान्छे हो, देश र जनताका लागि निरन्तर लडिरहने योद्धा हो,’ उनले भने, ‘गोरखाबाट सुदन गुरुङको जित आवश्यक छ।’