धनकुटामा ‘चियासँग कविता’ कार्यक्रमले पुरस्कार प्रदान गर्ने

शनिबार, २५ माघ, २०८२
डिजिटल संस्करण

धनकुटामा हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमले ‘चियासँग कविता धनकुटा साहित्य रत्न’ लगायतका पुरस्कार दिने भएको छ।

धनकुटाको पहिलो सामुदायिक रेडियो धनकुटा एफएमको संयोजनमा २०८१ साल फागुन २ गते शुक्रबारदेखि साप्ताहिक रुपमा हुँदै आएको चियासँग कविताको वार्षिक उत्सवको अवसरमा ‘चियासँग कविता धनकुटा साहित्य रत्न’ सहित विभिन्न ४ वटा विधामा पुरस्कार दिन लागिएको हो। प्रथम वार्षिकोत्सवका अवसरमा १५ हजार राशीको ‘चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कार’ र ५ हजार राशी ‘चियासँग कविता युवा साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ।

त्यस्तै ५ हजार रुपैयाँ राशीको ‘चियासँग कविता नव प्रतिभा’ पुरस्कार र ५ हजार रुपैयाँ राशीको ‘चियासँग कविता साहित्यिक पत्रकारिता’ पुरस्कार प्रदान गरिने चियासँग कविता कार्यक्रमका संयोजक गोपाल बराइलीले बताए। सो कार्यक्रममा शुरुदेखि सहभागी सर्जक तथा विभिन्न रूपमा सहयोग गर्ने सहयोगीहरूलाई पनि सम्मान गरिने बराइलीले बताए। छोटो समयमै कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई चलायमान बनाउँदै सर्जकहरूलाई नियमित रूपमा भेटघाट, कविता वाचन र सिर्जनात्मक संवादको साझा मञ्च उपलब्ध गराउँदै आएको छ।

धनकुटामा सुस्ताउँदै गएको साहित्यिक माहोललाई पुनः जागृत बनाउन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै ‘चियासँग कविता’ ले साहित्यिक विकास र नयाँ प्रतिभा पहिचानमा निरन्तर काम गरिरहेको छ। ‘चिया सँग कविता’ केवल कविता वाचनको यात्रा मात्र नभई धनकुटाको साहित्यिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको पनि बराइलीले बताए। स्थानीय साहित्यलाई एकीकृत गर्दै निरन्तर चलायमान बनाउने उद्देश्य सहित कार्यक्रम सञ्चालन हुँदै आएको छ।

‘चिया सँग कविता’ प्रथम वार्षिकोत्सव समारोहका अवसरमा विभिन्न साहित्यिक पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाइएको छ। प्रथम वार्षिक उत्सवको अवसर पारेर एक वर्षसम्म विभिन्न श्रृङ्खलाहरुमा सिर्जना वाचन गर्ने सर्जकहरुको संकलित सिर्जनाको ‘चियासँग कविता’ विमोचन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ।

सुझावित समाचार