ड्रमसँगै २५ वर्ष

शनिबार, २५ माघ, २०८२
डिजिटल संस्करण
  • ‘१९७४ एडीमा ड्रम बजाउन थालेको अढाई दशक बितेछ । यो यात्रा मेरा लागि सधैँ आनन्ददायी रह्यो 

करिब १०–१२ वर्षको उमेरदेखि नै सांगीतिक माहोलमा हुर्किएँ । घरनजिकैको एकजना दाइ ब्यान्डमा गिटार बजाउँदै हिँड्नुहुन्थ्यो । उहाँले गिटार बोकेर हिँडेको देख्दा मलाई पनि गिटार बजाउने इच्छा जाग्थ्यो । म आमासँग चर्च जान्थेँ । चर्चमा पनि सांगीतिक माहोल हुन्थ्यो । मैले सेन्ट जेभियर्स स्कुलमा पढेँ । स्कुलमै गिटार बजाउन सिकेँ । त्यसवेला वेस्टर्न म्युजिक सुनेर हुर्किने माहोल थियो ।

शिक्षकले स्कुलमै पनि मलाई बजाउन प्रोत्साहन गर्नुहुन्थ्यो । यसरी संगीतप्रतिको लगाव क्रमश: बढ्दै गयो । त्यतिवेला अहिलेजस्तो संगीत सिक्ने सुविधा थिएन । रेडियो र क्यासेट नै मुख्य माध्यम थियो । घरमा रेडियो मात्रै सुन्थ्यौँ । त्यसरी नै संगीत सुनेर हुर्किएँ । स्कुलमा गिटार बजाउन सक्नेको प्रतिष्ठा बढ्थ्यो, सबै झुम्मिन्थे । तर, समाजले भन्थ्यो, ‘म्युजिकमा लागेर के हुन्छ ? म्युजिकमा लाग्दा बिग्रिन्छ ।’ अहिलेजस्तो संगीतलाई करिअर बनाउने माहोल थिएन । संगीतमा लाग्नु भनेको जिन्दगी खेर फाल्नुजस्तै मानिन्थ्यो । तर, आमाले सधैँ साथ दिनुभयो । जागिर नै खानुपर्छ भन्ने दबाब दिनुभएन । आमाको सहयोगविना म यहाँसम्म आइपुग्दिनथेँ, होला । 

ब्यान्ड यात्रा
सेन्ट जेभियर्सबाट १९९५ मा एसएलसी दिएँ । त्यतिवेला १९७४ एडी ब्यान्ड स्थापना भइसकेको थियो । स्कुलमा म संगीतमा सक्रिय थिएँ । एड्रियन प्रधान दाइले सेन्ट जेभियर्समा म्युजिक पढाउनुहुन्थ्यो । म १० कक्षा पढ्दा स्कुलमा म्युजिक फेस्टिभल हुन्थ्यो, जहाँ विभिन्न स्कुलका विद्यार्थी सहभागी हुन्थे । त्यहीवेला एड्रियन दाइसँग सामान्य चिनजान भयो । 

एसएलसिपछि मैले ‘सृष्टि’ ब्यान्ड सुरु गरेँ । यो इन्स्ट्रुमेन्टल ब्यान्ड थियो । त्यो सेन्ट जेभियर्सकै दुईजना साथीसँग मिलेर बनाएको थिएँ । छोटो समयमै ब्यान्ड चर्चित भयो । ब्यान्डले एल्बम पनि निकाल्यो । त्यो वेला पप म्युजिकको माहोल थियो, नवीन के भट्टराई, भीम तुलाधरहरूको समय थियो । तर, इन्स्टु«मेन्टल ब्यान्ड भएकाले हामी अलि फरक देखियौँ ।

ब्याचलर पढ्दै गर्दा म सृष्टि ब्यान्डमै थिएँ । यही क्रममा अमेरिका टुर गर्ने अवसर पनि पाएँ । फर्किएपछि ब्यान्डलाई निरन्तरता दिन खोज्यौँ, तर एकजना साथी अमेरिका नै बस्ने भएपछि ब्यान्ड अघि बढ्न सकेन । सृष्टिको यात्रा त्यही टुंगियो । 

पढाइ पूरा गरेँ । त्यही समयमा १९७४ एडीको ‘सम्झी बसुँ’ एल्बम बजारमा आएको थियो । १९७४ एडी ब्यान्डको अलग्गै क्रेज थियो । त्यसवेला हिट्स एफएम म्युजिक अवार्डमा निराकार याक्थुम्बा दाइसँग भेट भयो । उहाँले मलाई कन्सर्टका लागि जोडिन आग्रह गर्नुभयो । त्यसवेला सोल्टी होटेलमा १९७४ एडीले कन्सर्ट गर्दै रहेछ । मलाई पनि कन्सर्टमा ड्रमरको रूपमा सहभागी हुन बोलाउनुभयो । त्यसवेलादेखि म १९७४ एडी ब्यान्डमा ड्रमरको रूपमा जोडिएँ ।

दु:ख–सुखको साथी संगीत
१९७४ एडीमा ड्रम बजाउन थालेको २५ वर्ष बितिसकेको छ । यो यात्रा मेरा लागि सधैँ आनन्ददायी रह्यो । सन् २००८ मा फिरोज स्याङ्देन अमेरिका जानुभयो । एड्रिन प्रधान दाइ एक्लै गर्छु भनेर लाग्नुभयो । त्यतिवेला म पनि द्विविधामा परेँ । ड्रमरको रूपमा के गर्ने होला ? कठिन समय आएको थियो । तर, जित्दै अघि बढ्यौँ । जति गाह्रो भए पनि अघि बढ्यौँ । पछि फेरि सबैजना एकठाउँमा आयौँ । यात्राचाहिँ गरिरहनुपर्ने रहेछ ।

ब्यान्डले दु:खको समय पनि व्यहोरियो । यद्यपि, यात्रा अझै जारी छ । जीवन भनेको बग्ने खोलाजस्तै रहेछ । कहिले ढुंगाबाट बग्नुपर्ने रहेछ, कहिले समथर ठाउँबाट बग्नुपर्ने रहेछ । मैले ब्यान्ड र जीवनलाई यसरी तुलना गर्छु । 

यो २५ वर्षे यात्राले धेरै कुरा सिकायो । सुरुवातमा संगीतको भोक थियो । गिटार बजाएँ । आफ्नो ब्यान्ड स्थापना गरेँ । ड्रमर भएर स्थापित भएँ । तर संगीतकर्मी बनेर चर्चित हुन्छु भनेर कहिल्यै सोचिनँ । प्लान गरेर संगीतमा आएको पनि होइन । कर्म गर्दै आएँ । म्युजिक र मेरो जीवनबिच घनिष्ट सम्बन्ध भयो । मैले संगीत छोडिनँ, संगीतले पनि मलाई छोडेन । संगीतले संसार घुमायो, धेरै अनुभव सिकायो । दु:ख–सुखमा साथ दिने संगीत नै रहेछ । यसले मेरो बुझाइको आयतन फराकिलो बनायो ।

ड्रम बजाउन उत्साह, ऊर्जा र कला आवश्यक हुन्छ । दुवै हात र दुवै खुट्टा एकसाथ चाल्नुपर्छ । साथमा दिमागको एकाग्रता अनिवार्य हुन्छ । मैले संसारको यात्रा गर्न थालेँ । संगीतको माहोल देखेँ । जीवनको छोटो यात्रामा म्युजिकले धेरै कुरा सिकायो भन्ने लाग्यो । धेरै अनुभव गर्न पाएँ । हातखुट्टा चल्ने वेलासम्म म्युजिक छोड्दिनँ । 

संगीतकर्मीको नजरबाट सम्झिँदा हाम्रो समय निकै कठिन थियो । म्युजिकमा निकै संघर्ष गर्नुपथ्र्याे । ९० को दशकमा नेपालमा कन्सर्ट गर्न पनि गाह्रो थियो । वाद्यवादन राम्रो पाइँदैनथ्यो । मान्छेहरू पैसा तिरेर हेर्न आउँदैनथे । माहोल जुटाउन कठिन थियो । ड्रमसेटलाई ढ्यांग्रो र झ्याम्टा भन्थे ।

अहिले प्रविधिले साथ दिएको छ । सांगीतिक माहोल पनि बनेको छ । साउन्ड इन्जिनियरहरू धेरै छन् । मान्छेहरूले म्युजिकलाई बुझेका छन् । दर्शकमा पनि म्युजिकलाई पैसा तिरेर हेर्नुपर्छ भन्ने सोचको विकास भएको छ । समाज पनि म्युजिकमा लाग्नेलाई सम्मान गर्छन् । 

नयाँ पुस्ताले धेरै विकास गरेको छ । कलाकारलाई सम्मान पनि गर्छन् । म्युजिकमा अहिले धेरै दु:ख छैन । अधिकांश नयाँ पुस्ताका ब्यान्ड र गायक–गायिका राम्रो गरिरहेका छन् । नेपाली संगीत पनि धेरै माथि पुगेको छ । समाजले हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । संगीत एउटा पेसा पनि बन्छ भन्ने बुझाइको विकास भएको छ ।

समयक्रमसँगै प्रविधिको विकास हुन्छ । हिजो क्यासेट, सिडीको जमाना थियो । गीत रेकर्ड गर्ने प्रविधिहरू सीमित थिए । अहिले सबैको पहुँचमा पुगेको छ । अहिले एआईसम्म आइपुग्यौँ । एआईले संगीत सिर्जना गर्न थालिसक्यो । तर, एआई उपयोगी टुल्स हो । यसले मानवीय संवेदना छुँदैन । संगीत मनबाटै आउनुपर्छ ।

संगीतमा मिहिनेत, लगनशीलता र साधना चाहिन्छ । संगीत समाजका लागि अपरिहार्य छ । रमाइलो मात्र होइन, साधनाका लागि संगीतमा लाग्नुपर्छ ।

(कुराकानीमा आधारित)

See More On

सुझावित समाचार