उदयपुर एक्स्पो सुरु

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

कृषि, पर्यटन, उद्योग, व्यापार र संस्कृतिको समन्वयमार्फत उदयपुरको सम्भावना उजागर गर्ने उद्देश्यसहित ‘उदयपुर एक्स्पो–२०८२’ सुरु भएको छ। माघ २३ गतेदेखि सुरु प्रदर्शनी फागुन ८ गतेसम्म चल्नेछ।

त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा नदीकिनारको बसपार्कमा सुरु प्रदर्शनीको उद्घाटन  प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गरेका हुन्। उद्घाटन समारोहमा पराजुलीले अहिलेको कमजोर अर्थतन्त्रलाई उकास्न यस्ता एक्स्पो तथा औद्योगिक महोत्सवहरू अपरिहार्य भएको बताए।

प्रदर्शनीले स्थानीय उत्पादन र उद्यमशीलतालाई बजारसँग जोड्ने सेतुको रूपमा काम गर्ने आयोजकको दाबी छ। जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा भएको प्रदर्शनीमा कृषि तथा घरेलु उत्पादन, हस्तकला, सेवा तथा व्यावसायिक स्टलहरू राखिएका छन्।

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका सञ्चार समिति संयोजक सुखिलाल चौधरीका अनुसार प्रदर्शनी उदयपुरको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनलाई एउटै मञ्चमा ल्याउने साझा अभियान हो।

यस वर्षको प्रदर्शनीमा उदयपुरमै पहिलोपटक एसी अन्डरवाटर फिस टनेलको प्रत्यक्ष अवलोकन, मौलिक सांस्कृतिक झाँकी, परम्परागत नृत्य–संगीत र हस्तकलाको भव्य प्रदर्शनी हुनेछ। साथै एलिना चौहान, प्रमोद खरेल, शिव परियार, ज्योति मगर, आस्था राउत, प्रताप दास, रचना रिमाल, राजनराज सिवाकोटी, टीका प्रसाईंलगायत चर्चित राष्ट्रिय कलाकारहरूसँगै रसियन कलाकार समूह र संयुक्त मिथिला कलाकार नेपालका सांगीतिक कार्यक्रम रहनेछन्।

सुझावित समाचार