जनता समाजवादी पार्टी नेपालले सिराहाको लहान नगरपालिकाका निर्वाचित उपमेयरसहित सातजनालाई पार्टीबाट निष्कासन गरेको जनाएको छ । जसपा नेपाल सिराहाका अध्यक्ष अशोककुमार यादवले प्रेस विज्ञप्तिमार्फत लहानका निर्वाचित नगर उपप्रमुख रामचलितर महतो, सखुवानन्कारकट्टी गाउँपालिका– ४ का निर्वाचित वडाध्यक्ष रमेश गोइत यादवसहित पार्टीका जिल्ला र स्थानीय जिम्मेवारीमा रहेका सातजनालाई निष्कासन गरिएको जनाएका छन् । विज्ञप्तिमा लहानका उपमेयर महतोसहित जिल्ला अधिवेशन प्रतिनिधिहरू रामसोगारथ यादव, हरिनारायण यादव, महेश यादव, सखुवानन्कारकट्टी– ४ का पार्टी इकाइ अध्यक्ष योगेन्द्र झा र लहान नगर समिति सचिव रामऔतार महतोलाई कारबाही गरिएको उल्लेख छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ लक्षित गरी पार्टीको नीति तथा निर्णय, हित, अनुशासन र विधानविपरीत गतिविधिमा संलग्न सातजनालाई पार्टी विधानको परिच्छेद १२७ र १२८ बमोजिम पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ । नेपाली कांग्रेस र जसपाको गठबन्धनबाट ०७९ को निर्वाचनमा लहानको उपमेयरमा निर्वाचित महतो पछिल्लो कैयौँ महिनादेखि पार्टीको निर्देशनविपरीत नगरपालिकाको दैनिक कामकाजसमेत नगरी आफ्नै ढंगले चल्दै आएको बताइएको छ ।
‘उपमेयरसहित वडाध्यक्ष र पार्टीको अन्य जिम्मेवारीमा रहेकाहरूलाई पटकपटक सम्झायौँ,’ जसपाका एक नेताले भने, ‘तर, आफ्नै ढंगले चल्ने, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारको सन्दर्भमा अन्य दलका उम्मेदवारसँगै देखिन थालेपछि निष्कासन गरिएको हो ।’ उपमेयर महतो, वडाध्यक्ष यादव पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारप्रसारमा खटिरहेको उनले बताए ।
प्रदेश कोषाध्यक्षले गरे राजीनामा
पार्टी हितविपरीत काम गरेको भन्दै सातजनालाई कारबाही गरेको जसपाका मधेश प्रदेश कोषाध्यक्ष विष्णुकुमार साहले भने राजीनामाको घोषणा गरेका छन् । साहले प्रदेश समितिलाई सम्बेधन गर्दै बिहीबार राजीनामा बुझाएका हुन् । पत्रमा प्रदेश कोषाध्यक्षको रूपमा काम गर्दा पार्टीका विभिन्न पदाधिकारी र सदस्यहरूबाट प्राप्त सहयोग र विश्वासका लागि धन्यवाद दिँदै पार्टीको सदस्यसमेत नरहने गरी राजीनामा गरिएको उल्लेख छ । ‘मेरो कार्यकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई धन्यवाद गर्दछु,’ पत्रमा भनिएको छ, ‘पार्टीको उज्ज्वल भविष्यको कामना गर्दै राजीनामा स्वीकृत गर्न अनुरोध गर्दछु ।’ राजीनामा किन दिइएको हो भन्ने विषयमा पत्रमा केही खुलाइएको छैन ।
