कांग्रेसले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालय, सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले १६५ वटै क्षेत्रमा पार्टीका उम्मेदवार रहेका र कसैसँग चुनावअघि गठबन्धन नगर्ने नीति रहेको प्रस्ट पारे । ‘चुनावपूर्व कांग्रेसले कुनै पनि दलसँगै कुनै पनि प्रकारको गठबन्धन गर्दैन, १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार कायम छ र दृढतापूर्वक प्रचारमा लागेका छौँ,’ चालिसेले भने । उनले चुनावी गठबन्धनका सन्दर्भमा छलफलका लागि अन्य कुनै पनि दलसँग पार्टीका तर्फबाट भेटघाट र संवाद नभएको बताए ।
चालिसेले चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर चुनाव लड्न जानु मानव अधिकार भए पनि नैतिक प्रश्नसँग जोडिएको गम्भीर विषय भएको र त्यसले स्वतन्त्र र धाँधलीरहित निर्वाचनमाथिसमेत प्रश्न उठाउन सक्ने बताए । ‘चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु मानव अधिकारको विषय त बन्ला, तर नैतिकताको विषयचाँहि होइन,’ चालिसेले भने, ‘त्यो नुहुनुपर्ने थियो, भयो । तर, स्वतन्त्र, निर्भय र सुरक्षित वातावरणमा मतदान गर्न पाउने नागरिक र पार्टीको हक छ, त्यो सुनिश्चित गराउने काम, कर्तव्य सरकारको हो । सरकार त्यसमा लाग्नुपर्छ ।’
त्यस्तै, कांग्रेसले मधेश प्रदेशको जनकपुरबाट चुनावी सभा आयोजना गर्ने भएको छ । ७ फागुनमा जकपुरबाट चुनावी सभा गरी प्रचार अभियान अगाडि बढाउने कांग्रेसको तयारी छ । सभालाई सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्नेछन् । सभापति थापा यसपटक काठमाडौं ४ छोडेर सर्लाही ४ बाट चुनाव लड्दै छन् । उनलाई यसअघि विजयी स्वतन्त्र सांसद अमरेशकुमार सिंहले चुनौती दिँदै छन् । सिंह कांग्रेसकै पूर्व नेतासमेत हुन् ।
कोहीसँग पनि गठबन्धन हुँदैन : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा कोहीकसैसँग गठबन्धन नहुने र पहिलो पार्टी बन्ने दाबी गरेका छन् । बिहीबार केन्द्रीय निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा प्रचण्डले भने, ‘प्रस्ट शब्दमा भन्न चाहन्छु– कसैसँग पनि चुनावी गठबन्धन हुँदैन । हाम्रो पार्टीको पक्षमा देशव्यापी लहर आएको छ, हामी पहिलो बन्दै छौँ ।’
राष्ट्रियताको रक्षा, आत्मनिर्णयको अधिकारको रक्षा, हालसम्म प्राप्त उपलब्धिको रक्षा र थप अधिकारका निम्ति संघर्ष गर्ने पार्टी नेकपा रहेको भनेर जनताले बुझेको उनको भनाइ छ । ‘नयाँ भनिएका दलहरूसँग न विचार छ, न दृष्टिकोण र दर्शन छ । यो कुरा जनताले बिस्तारै बुझ्दै गएका छन्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रचार संयोजक अग्नि सापकोटाले बताए । देशमा दुईथरी अतिवाद रहेको भन्दै प्रचण्डले त्यस्तासँग गठबन्धन गर्न नसकिने बताए । ‘जनताबाट अस्वीकृत र तिरस्कृतहरूसँग गठबन्धन हुँदैन । हाम्रो पार्टीको पक्षमा देशव्यापी माहोल बनेको छ । हामी एक्लै निर्वाचन लड्छौँ । पहिलो पार्टी बन्छौँ । तपाईंहरू सबै सम्पूर्ण शक्ति लगाएर निर्वाचनमा होमिनुस्,’ प्रचण्डले भनेका छन् । उनले छिट्टै चुनावी घोषणापत्र सार्वजनिक हुने पनि बताए ।
सहसंयोजक माधवकुमार नेपालले राजनीतिमा विभिन्न दलहरूसँग छलफल, संवाद हुने भए पनि नेकपा एक्लै निर्वाचन लड्ने बताए । ‘हामी एक्लै उत्साहका साथ निर्वाचन लडेर जित्नेछौँ,’ उनले भने ।