नेपालगन्ज उपमहानगरपालिकाको २० नयाँ बस्तीस्थित साथी स्वावलम्बन सहकारी संस्थाले दैनिक दुई क्विन्टल छुर्पी उत्पादन गर्दै आएको छ । गाउँमा उत्पादित दुध खपत गर्ने उद्देश्यले छुर्पी उत्पादन थालेपछि ‘मिल्क होली डे’ समस्याको समाधान भएको सहकारीका व्यवस्थापक मेघराज खत्रीले बताए । ‘किसानको दुध खपत गर्न छुर्पी उत्पादनमा लागेका हौँ,’ उनले भने, ‘छुर्पी उत्पादन गर्न थालेपछि ‘दुध होली डे’को समस्या समाधान भएको छ ।’
जाडोयाममा दुध बिक्री नहुने समस्या यथावत् रहेको बताउँदै उनले छुर्पी उत्पादन गर्न थालेपछि किसानलाई दुध बिक्री गर्न सहज भएको बताए । जाडोयाममा दुध बिक्री नहुँदा किसानलाई परेको मर्कालाई मध्यनजर गरी सहकारीले गाई र भैँसीको दुधबाट छुर्पी उत्पादन गर्ने उपाय निकालेको हो । गर्मीयाममा दुध बिक्रीमा समस्या नभएको बताउँदै उनले धेरै खपत हुने वेला लिने र नहुने वेला नलिने भन्ने हुँदैन । ‘किसानको दुध बाह्रै महिना खरिद गर्ने उद्देश्य सहकारीले लिएको छ,’ उनले भने ।
सहकारीले उत्पादन गरेको छुर्पी नेपालगन्ज, कोहलपुर, राँझाका पसलेले लैजाने गरेको उनले बताए । सहकारीले बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्दै आएको खत्रीले बताए । ‘बजारमा छुर्पीको मूल्य एक हजार रुपैयाँ छ, तर हामीले आठ सयमा बिक्री गर्दैै आएका छौँ । विद्यालय नजिकै छ, विद्यार्थीलाई साइज हेरेर पाँच रुपैयाँको तीन–चारवटा दिन्छौँ,’ उनले भने । उनले चौँरीगाईको दुधबाट मात्र छुर्पी बन्छ भन्ने मानसिकताका कारण बजारीकरणमा कठिनाइ भएको बताए ।