नेमकिपाले जोगाउला भक्तपुरको किल्ला ?

नेमकिपाको गढ मानिने भक्तपुर १ मा इतिहास रच्ने दाउमा अन्य दल

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

भौगोलिक रूपमा देशकै सानो, तर ऐतिहासिक र सांस्कृतिक सम्पदाको दृष्टिले अग्रपंक्तिमा रहेको भक्तपुर जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेमकिपाको गढसमेत भनिने भक्तपुर १ मा यसपटक कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपासहितका दलहरू इतिहास रच्ने दाउमा छन् । नेमकिपा भने ०४८ यताका सबै चुनाव जितेको आफ्नो गढ सुरक्षित गर्ने योजनामा छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले ०४८, ०५१, ०५६, ०६४ र ०७० गरी पाँचपटक चुनाव जिते । ०७४ र ०७९ महासचिव प्रेम सुवालले जितलाई निरन्तरता दिएका छन् । सुवाल प्रत्यक्षमा ह्याट्रिक गर्ने योजनासहित पुन: उम्मेदवार बनेका छन् । उनी ०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए ।

चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरू आन्तरिक योजना र मतदाता भेटघाटतिर लागेका छन् । घोषणापत्र जारी हुन बाँकी रहेकाले राष्ट्रिय राजनीतिक एजेन्डा तथा स्थानीय विकास र समस्याबारे पार्टीको दृष्टिकोण लिएर जितको योजना बनाएर विभिन्न रणनीतिसहित चुनावी प्रचारमा अघि बढेका छन् ।

यसपटक एमालेले नेमकिपाका सुवाललाई चुनौती दिन ०७९ को निर्वाचनका प्रतिस्पर्धी सोम मिश्रलाई नै उम्मेदवार बनाएको छ । उनी चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर पनि हुन् । कांग्रेसले किरण न्यौपानेलाई उम्मेदवार बनाएको छ । ०७९ को चुनावमा राप्रपाका भरतबहादुर खड्काले तेस्रो र कांग्रेससहितको समर्थनमा तत्कालीन माओवादीका उम्मेदवार सुनील गोठेले चौथो स्थानको मत पाएका थिए । यसपटक नेकपाले हरिराम लबजूलाई अघि सारेको छ भने राप्रपाबाट खड्का नै उम्मेदवार छन् । रास्वपाबाट रुकेश रञ्जित उम्मेदवार छन् ।

त्यस्तै, आम जनताका देवेन्द्र ठाकुर, उज्यालो नेपालका रमेश मल्ल, राष्ट्रिय जनमोर्चाका ईश्वरीप्रसाद पैयानी, जसपा नेपालका श्यामसुन्दर शिल्पकार, नेकपा (माओवादी)का चन्द्रमान कोजू, श्रम संस्कृतिका विष्णुहरि न्हिसुतू, नेकपा संयुक्तका दामोदर काफ्ले, प्रगतिशील लोकतान्त्रिकका रवि खाइजूसहित १६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेमकिपाले यस क्षेत्रमा भएको विकासको जस लिनुका साथै केन्द्रमा खेलेको प्रतिपक्षीको भूमिका तथा निष्ठाको राजनीतिलाई नै प्रचार गरिरहेको छ । एमाले, कांग्रेसहित दलहरूले भने क्षेत्रलाई संकीर्णतामा कैद गरिँदा ठुला विकास परियोजना आउन नसकेको, जनताको पहुँच केन्द्र र प्रदेशमा हुन नसकेको जस्ता विषयलाई मुद्दा बनाएर प्रचार गरिरहेका छन् ।

भक्तपुरमा मतदाता एक लाख ७५४ मतदाता छन् । जसमध्ये महिला ५४ हजार ९८८ र पुरुष पुरुष ५२ हजार ६६ छन् । मतदानस्थल ३७ छन् भने मतदान केन्द्र ११९ कायम भएका छन् ।

भक्तपुर बहुमुखी क्याम्पसका गोपालप्रसाद न्यौपानेले सहरमा नेमकिपाको वर्चस्व रहे पनि  कांग्रेस र एमाले प्रतिस्पर्धी रहेको बताए । ‘भक्तपुर नगरभित्रको सहरी क्षेत्र नेमकिपाको परम्परागत गढका रूपमा चिनिन्छ । सहरआसपास र चाँगुनारायण क्षेत्रमा भने एमाले र कांग्रेसजस्ता दल नै मुख्य प्रतिस्पर्धी छन्,’ उनले भने, ‘बजार क्षेत्रका मतदाता अन्तको काम र उम्मेदवारको तुलना गरेर मत दिने खालका छैनन् । बहुसंख्यक कृषि पेसामा संलग्न भएको र पुराना पुस्ताले मत परिवर्तन गर्ने सम्भावना न्यून छ । बजारका वडामा नेमकिपाको छाप नराम्रो देखिँदैन । प्रभावशाली उपस्थितिसहित जितको निरन्तरताका लागि नेमकिपालाई सहज हुन सक्छ ।’

यस्तो छ ०७९ को चुनावको अंकगणित 
०७९ को निर्वाचनमा नेमकिपाका प्रेम सुवालले निकटतम प्रतिस्पर्धी एमालेका नवराज गेलाललाई झन्डै चौबर मतान्तरले हराएका थिए । सुवाल ४२ हजार ७६१ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी गेलालले ११ हजार ९६८ मत मात्र पाए । तेस्रो स्थानमा राप्रपाका भरतबहादुर खड्काले नौ हजार २२२ मत तथा चौथो स्थानमा तत्कालीन माओवादीका सुनील गोठेले पाँच हजार १६५ मत पाएका थिए । अन्य उम्मेदवारले ६ सयभन्दा कम ल्याएका थिए । समानुपातिकतर्फ नेमकिपाले ३२ हजार ९०४ मत पाएको थियो । त्यस्तै, रास्वपाले ११ हजार ११०, कांग्रेसले आठ हजार ८७५, एमालेले आठ हजार १९४, राप्रपाले पाँच हजार ९०३ र तत्कालीन माओवादी एक हजार ३६७ मत पाएका थिए ।
 

See More On

सुझावित समाचार