धनुषामा गाडीको ठक्करबाट प्रहरीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाधाम नगरपालिका–६, मालटोलमा भएको सवारी दुर्घटनामा असइ देवानन्द फनैतको मृत्यु भएको हो।
बिहीबार साँझ करिब ६ः२० बजेको समयमा इटहरीबाट अमलेखगन्जतर्फ जाँदै गरेको ना ७ ख ३७१८ नम्बरको तेल ट्यांकरले सोही दिशातर्फ गइरहेका प्र २–०३–००१ प ८७२० र प्र २–०१–००३ प ९९९३ नम्बरका दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकल चलाएका असइ फनैतको मृत्यु भएको हो।
उनी इप्रका ढल्केवर धनुषामा कार्यरत थिए। उपचारका लागि मोडल अस्पताल लालगढ धनुषा पठाइएकोमा चिकित्सकले जाँचका क्रममा साँझ करिब ७ः०० बजे मृत घोषणा गरेको जिप्रका धनुषाका डिएसपी गणेश बमले बताए।
दुर्घटनामा प्र २–०१–००३ प ९९९३ नम्बरको मोटरसाइकलचालक धनुषाधाम नगरपालिका–९ निवासी रामकिशोर महतो पनि गम्भीर घाइते भएका छन्। ट्यांकरचालक सुनसरीको उर्लाबारी नगरपालिका–१ निवासी करिब ३६ वर्षीय दुर्गा माझीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।