राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले उदयपुरको दुवै निर्वाचन क्षेत्रमा घन्टी बजाएर चुनावको प्रचारप्रसार गरेका छन् । बालेनको चुनावी दौडको सिलसिलामा बिहीबार उदयपुरका दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका सम्पर्क कार्यालयमा राखिएको र घन्टी बजाउँदै पार्टीका शुभचिन्तक, समर्थकलाई भेट गर्दै चुनावको प्रचारप्रसार गरेका हुन् ।
गत सोमबार मात्र आफ्नो निर्वाचन क्षेत्र झापा ५ पुगेका उनी बुधबार मोरङ, सुनसरी पुगेर बिहीबार उदयपुर आइपुगेका हुन् । उनले जिल्लाका निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार तथा पार्टी कार्यकर्ता, समर्थक र मतदातासँग भेटघाट गर्दै घन्टी बजाएर हिँड्ने गरेका छन् ।
रास्वपा उदयपुरका जिल्ला सभापति चित्रकुमार कार्कीले आज बिहान रामपुरबाट सुरु भएको बालेनको यात्रा बेल्टार, गाईघाट हुँदै कटारी पुगेको जानकारी दिए । उनले भने, ‘कटारीबाट ओखलढुंगातर्फ जाने उहाँको कार्यक्रम छ ।’ मदन भण्डारी लोकमार्गको रामपुर–कटारी खण्डमा बालेनलाई हेर्न भिड पनि लागेको थियो ।