भारत–अमेरिका व्यापार सम्झौताको फाइदा : डलरको मूल्यमा एकै दिन दुई रुपैयाँको गिरावट

बिहिबार, २३ माघ, २०८२
डिजिटल संस्करण

भारत र अमेरिकाबिच व्यापार सम्झौता भएसँगै नेपाली बजारमा अमेरिकी डलरको मूल्य एकै दिन दुई रुपैयाँले घटेको छ । भारत र अमेरिकाबिचको व्यापार द्वन्द्वका कारण भारतमा डलर बलियो हुँदा नेपालमा पनि यसको मूल्य बढेको थियो । तर, मंगलबार दुई देशबिच व्यापार सम्झौता भएको घोषणासँगै भारतीय बजारमा डलरको मूल्य घट्न थालेको छ । नेपाल र भारतबिच रहेका स्थिर विनिमय मूल्यका कारण नेपालमा पनि डलरको मूल्य घटेको हो । 

राष्ट्र बैंकले मंगलबार एक डलरको खरिद मूल्य १४६.१३ रुपैयाँ र बिक्री मूल्य १४६.७३ रुपैयाँ तोकेको थियो । बुधबार त्यो दुई रुपैयाँले घटेर खरिद मूल्य १४४.१३ रुपैयाँ र बिक्री मूल्य १४४.७३ रुपैयाँमा सीमित भएको छ । डलरको मूल्य घट्नु भनेको नेपाली मुद्रा बलियो हुनु पनि हो । गत सोमबार डलरको खरिद मूल्य १४६.८८ र बिक्री मूल्य १४७.४८ रुपैयाँ थियो, जुन हालसम्मकै उच्च हो । 

नेपाली मुद्रा भारतीय मुद्रासँग पेग (विनिमयदर स्थिर) छ । त्यो अवस्थामा भारतमा डलरको मूल्य बढ्दा नेपालमा बढ्ने र भारतमा घट्दा नेपालमा पनि घट्ने हुन्छ । विगतमा भारत र अमेरिकाबिचको व्यापार द्वन्द्वले भारतको डलरको मूल्य बढ्दै गएको थियो । अमेरिकाले भारतीय वस्तुको आयातमा लाग्ने करको दर गत २७ अगस्ट (११ भदौ)देखि २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याएको थियो । त्यसपछि भारतबाट अमेरिकामा हुने निर्यात प्रभावित भएको थियो । भारतको निर्यातमा अमेरिका ठुलो बजार हो । तर, अमेरिकाले कर लगाएपछि भारतको निर्यात प्रभावित भई डलर आम्दानीमा असर परेको थियो । त्यसमाथि भारतको निर्यातमुखी क्षेत्रमा भएको विदेशी लगानीसमेत फिर्ता भइरहेको थियो । त्यसरी भारतमा डलरको माग बढी र आपूर्ति कम भएको थियो । त्यसले गर्दा डलरको मूल्य बढेको थियो । फलस्वरूप नेपालमा पनि यसको मूल्य बढेको थियो । 

तर, अमेरिकाले अहिले भारतबाट आयात हुने वस्तुमा लगाउने कर ५० प्रतिशतबाट घटाएर १८ प्रतिशतमा सीमित गरेको छ, जुन यसअघि लगाइएको २५ प्रतिशत करभन्दा पनि कम हो । त्यसले भारतबाट अमेरिकातर्फ निर्यात बढ्ने अपेक्षा छ । साथै, विदेशी लगानी पनि आर्कषण हुने अपेक्षा गरिएको छ । 

See More On

सुझावित समाचार