पौने पाँच अर्ब लगानीमा चितवनमा नयाँ औषधि कारखाना खोल्दै देउराली जनता

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

औषधि उत्पादक कम्पनी देउराली–जनता फर्मास्युटिकल्स प्रालिले पौने पाँच अर्ब रुपैयाँको लगानीमा चितवनको भरतपुरमा नयाँ कारखाना स्थापना गर्ने भएको छ।

मंगलबार ३५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले नयाँ कारखाना बनाउने घोषणा गरेको हो। कम्पनीले आफ्नो उत्पादनलाई विविधीकरण गर्दै उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक नयाँ कारखाना चितवनको भरतपुरमा निर्माण गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आयोजनालाई दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उक्त नयाँ परियोजना सम्पन्न भएपछि थप ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने बताइएको छ।

हाल यो कम्पनीले २९६ प्रकारका जीवन रक्षक औषधिहरू अनुसन्धान र उत्पादन गर्दै आएको छ। ती उत्पादनहरूको गुणवत्ता निर्धारण गर्ने अत्याधुनिक प्रविधि र उपकरणसहितको सुविधा सम्पन्न कारखाना निर्माण गरी अन्तर्राष्ट्रियस्तरको गुणस्तर भएका औषधिहरू नेपाली जनतालाई उपलब्ध गराइरहेको कम्पनीको दाबी छ। कम्पनीमा हाल ६७५ कर्मचारी कार्यरत छन्।

सुझावित समाचार