दलित तथा विपन्नका लागि आवास निर्माण योजनामा अनियमितता भएको भन्दै दलित महिलाहरूले गाउँपालिका कार्यालयअगाडि प्रदर्शन गरेका छन्।
पर्साको बिन्दवासिनी गाउँपालिकाले संघीय सरकारबाट प्राप्त एक करोड १० लाखको लागतमा दलित तथा विपन्न समुदायका लागि आवास निर्माण गर्न टेन्डर आह्वान गरेर ठेक्का लगाइसकेको छ।
तर, जनप्रतिनिधि र कर्मचारीले वास्तविक लाभग्राहीलाई जानकारी नै नगराई नक्कली लाभग्राहीलाई समावेश गरेको आरोप लगाउँदै स्थानीय महिलाले प्रदर्शन गरेका हुन्। आवास निर्माण योजनामा अनियमितता भएको भन्दै उनीहरूले ठेक्का प्रक्रिया तत्काल रोक्नसमेत माग गरेका छन्।
प्रदर्शनमा उत्रिएका दलित महिलाहरूले सूचनाको हक प्रयोग गर्दै आवास निर्माण योजनाका बारेमा गाउँपालिकाले अघि बढाएको प्रक्रियाका बारेमा जानकारी माग गरेका छन्। संघीय सरकारबाट प्राप्त अनुदानको बजेट, लाभग्राही छनोट प्रक्रिया र छनोट गरिएका लाभग्राहीको विवरण, निर्माण हुने भनिएको भवनको अन्तिम स्वामित्वलगायतका बारेमा लिखित जानकारी उपलब्ध गराउन ज्ञापनपत्रमा उल्लेख छ। उनीहरूले यसअघि पनि उक्त योजनाको बारेमा गाउँपालिका कार्यालयसँग सूचना माग गर्दै निवेदन दिएका थिए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद प्रबेज आलमलाई टेलिफोन सम्पर्क गर्दा सम्पर्कमा आएनन्।