‘विश्वको जन इतिहास’ पुस्तकको नेपाली अनुवाद बजारमा

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

चर्चित पुस्तक ‘विश्वको जनइतिहास’को नेपाली अनुवाद बजारमा आएको छ। बेलायती लेखक क्रिस हरमनद्वारा लिखित ‘अ पिपुल्स हिस्ट्री अफ द वर्ल्ड’ पुस्तकको विकेश श्रेष्ठले नेपाली अनुवाद गरेका हुन्।

पुस्तकमा विश्व इतिहासमा चिनियाँ सांस्कृतिक जनक्रान्तिदेखि विश्वभर आएका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक उथलपुथल, यस क्रममा नायक– खलनायकका रूपमा उदाएका पात्र, परिवर्तनका लागि जनताले गरेका अभूतपूर्व संघर्षको विस्तृत इतिहास उल्लेख छ।

आगामी समय र शताब्दीहरूमा यसको परिवर्तनको दिशा र ज्ञान प्राप्त गर्न विश्वका जनताको इतिहास पढ्नैपर्ने अनुभूति गरेर अंग्रेजी पुस्तकको नेपाली अनुवाद गरेको अनुवादक श्रेष्ठले बताए।

बुकमार्कले सन् १९९९ मा प्रकाशन गरेको पुस्तकको नेपाली संस्करण पेपर नेपाल प्रालिले आधिकारिक रूपमा अनुमति लिएर प्रकाशन गरेको हो। यसको आधिकारिक बिक्री-वितरण भने दोबिल्ला बुक्सले गर्ने पेपर नेपालका प्रबन्ध निर्देशक गजेन्द्र चालिसेले बताए।

वर्गीय समाजको उदय, प्राचीन विश्वदेखि मध्यकाल, महान परिवर्तन, नयाँ प्रणालीको परिवर्तन, आशा र सन्त्रासको शताब्दीलगायतका विभिन्न खण्डमा विभाजित पुस्तक ५९३ पृष्ठको छ। यस पुस्तकको बजार मूल्य १२८० रुपैयाँ छ।

सुझावित समाचार