धनकुटाको साँगुरीगढी गाउँपालिका–६, फेदीबाट ९० केजी लागुऔषध गाँजासहित प्रहरीले भारतीय नम्बरको गाडी नियन्त्रणमा लिएको छ।
कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी–६, फेदीमा मूलघाट प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले बुधबार दिउँसो २ बजेतिर डब्लु ११ एच ४८७४ लेखिएको भारतीय नम्बर प्लेटको गाडीलाई नियन्त्रणमा लिएको हो। गाडी रोकेर चेकजाँच गर्ने क्रममा चालक फरार भएका प्रहरीले जनाएको छ।
भारतीय गाडीको नम्बर प्लेटमाथि नेपाली नम्बर प्लेट बा १० च ५६१५ लेखेर गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। गाडी चेकजाँच गर्दा बोरामा प्लास्टिकले प्याक गरेको चारवटा पोकामा ९० केजी २३५ ग्राम गाँजा बरामद भएको प्रहरीले बताएको छ।
लागुऔषधसहित गाडी नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ।