निर्वाचन आयोगको आग्रहमा जल तथा मौसम विज्ञान विभागले चुनावलक्षित मौसम पूर्वानुमान जारी गर्ने तयारी गरेको छ । विभागकी निमित्त महानिर्देशक डा. अर्चना श्रेष्ठका अनुसार चुनावताका २१ फागुन र त्यसआसपासको अवधिमा नेपालमा मौसमको अवस्थाबारे पूर्वानुमान माग गरेकाले सोहीअनुसार अध्ययन भइरहेको हो ।
‘हामीले विशेष अवस्थामा पनि एक साताअघि मात्र मौसमको विशेष पूर्वानुमान गर्ने गरेका छौँ । लामो अवधिको मौसमको आकलन गर्न सक्ने अवस्थामा हामी छैनौँ,’ श्रेष्ठले भनिन्, ‘तर, चुनावका लागि आयोगबाट पत्र आएकाले त्यसआसपासको अवधिमा कस्तो मौसम हुन सक्छ भनेर हेरिरहेका छौँ । एक–दुई दिनमा पूर्वानुमान गर्छाैँ ।’
मौसम पूर्वानुमान महाशाखा र जलवायु तथा हावापानी विश्लेषण महाशाखाका मौसमविद्हरूले चुनावताकाको सम्भावित मौसम, सामुद्रिक हावापानीको अवस्था र यसअघिका वर्षमा मौसम कस्तो थियो भनेर विश्लेषण गरिरहेका छन् । विभागले चुनावताकाको मौसमबारे आधिकारिक जानकारी नदिए पनि फागुनमा हिमाली क्षेत्रमा हिमपात र तराईमा हावाहुरीको सम्भावना भने नकार्न सकिँदैन । त्यो अवधिमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहने सम्भावना त रहन्छ नै, घाम चर्किन सुरु हुने भएकाले स्थानीय वायु सक्रिय भएर वर्षा पनि हुने गर्छ । १६ फागुनसम्म हिउँदे अवधि नै हो ।
गत वर्ष मध्य फागुनमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो । १६ फागुनमा २४ घण्टामा कालीकोटको रासकोटमा ६६.२ मिलिमिटर पानी परेको थियो । त्यसअघि ०८० फागुनमा हिउँद सकिएपछि २० फागुनमा वर्षा भएको थियो भने हिमाली क्षेत्रमा हल्का हिमपात भएको थियो । १८ र १९ फागुन ०७९ मा ताप्लेजुङको पाथीभरालगायत क्षेत्रमा हिमपात भएको थियो ।
अहिलेको अवस्था हेर्दा मार्च पहिलो साता पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने सम्भावना छ । तर, कति शक्तिशाली हुन्छ र यसको प्रभाव कति रहन्छ भनेर अहिले अनुमान गर्न सकिने अवस्था भने छैन । यस वर्ष हिउँदका दुई महिना बितेपछि मात्र वर्षा तथा हिमपात भइरहेको छ । मंगलबार राति पश्चिम नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । अघिल्लो साता दुईपटक हिमपात भइसकेको छ ।