कपिलवस्तु जिल्लामा शान्तिसुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवामा उल्लेखनीय भूमिका निर्वाह गरेबापत प्रहरी नायब उपरीक्षक (डिएसपी) रिपेन्द्रकुमार सिंह सम्मानित भएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत रहँदै प्रहरी संगठनले दिएको जिम्मेवारीलाई पूर्ण निष्ठा, लगनशीलता र प्रभावकारी रूपमा निर्वाह गर्दै शान्तिसुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा रोकथाममा उल्लेखनीय योगदान पुर्याएको उच्च मूल्यांकन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले उनलाई प्रशंसापत्र प्रदान गरेका हुन्।
कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन समारोहका अवसरमा आयोजित एक भव्य कार्यक्रममा आइजिपी कार्कीले डिएसपी सिंहलाई प्रशंसापत्रसहित सम्मान गरेका थिए।
सम्मान कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले जिल्लामा आमनागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा डिएसपी सिंहले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कर्मशील प्रहरी कर्मचारीको योगदानले प्रहरी संगठनको गरिमा थप उचाइमा पुग्ने बताए।
डिएसपी सिंहको सक्रियता, कार्यक्षमता र जनमैत्री व्यवहारले कपिलवस्तु जिल्लामा प्रहरी–नागरिक सम्बन्ध सुदृढ हुँदै गएको स्थानीयवासीहरूको भनाइ छ।