हकप्रद सेयर जारी गरी आयोजना निर्माण गर्ने आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि हुने कागजात चाहिने प्रावधान हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले माग गरेको छ ।
मंगलबार इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताललाई ज्ञापनपत्र बुझाउँदै कुनै कम्पनीले अर्को आयोजना निर्माण गर्न चाहिले २० प्रतिशत वित्तीय प्रगतिको व्यवस्थाले थप लगानी व्यवस्थापन र आयोजना निर्माणमा अप्ठ्यारो परेको भन्दै हटाउन माग गरिएको छ ।
वरिष्ठ उपाध्यक्ष डाँगीले हकप्रद सेयर जारी गर्ने व्यवस्थालाई सहजीकरण गरी थप आयोजनाहरूको निर्माणका लागि बाटो खोल्न आग्रह गरे । हकप्रद सेयर जारी नगरी स्वपुँजी व्यवस्थापन गर्न असम्भव रहेको तथा स्वपुँजी जारी नगरेसम्म बैंक तथा वित्तीय संस्थाहरूले ऋण परिचालनसमेत नगर्ने हुनाले आयोजना निर्माणको कार्यमै अवरोध हुने उल्लेख गर्दै निश्चित आयोजना निर्माणका लागि मात्र यस्तो सेयर जारी हुने भएकाले यसमा २० प्रतिशतको वित्तीय प्रगति असम्भव देखिएकाले यसलाई हटाउनुपर्ने बताए । ज्ञापनपत्र बुझ्दै ऊर्जासचिव चटौतले हकप्रदसम्बन्धी सेयर जारी गर्न देखिएको समस्या समाधानका लागि पहल गर्ने बताए ।