सुकुमवासी र सन्थाल बस्ती पुगे बालेन, स्थानीयले सोधे एजेन्डा

बालेनको जवाफ– फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्छौँ

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

चुनावी दौरानमा पूर्वी र पश्चिम नेपाल पुगेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ आफ्नो निर्वाचन क्षेत्र झापा ५ फर्किएका छन् । सोमबार साँझ दमक पुगेका बालेन मंगलबार भेटघाट तथा समस्या सुन्ने कार्यक्रम तय गरेर मंगलबार कमल गाउँपालिका– ५ स्थित सुकमवासी, गौरीगन्जको सन्थाल बस्ती पुगेका हुन् । त्यस्तै, उनी गौरादह नगरपालिका पनि पुगे ।

कमल गाउँपालिका पुगेका बालेनलाई त्यहाँका सुकुमवासीले सुकुमवासी बस्तीमा काठमाडौंमा जस्तो डोजर चल्ने आशंका गरेका थिए । बालेनले काठमाडौं र झापाको सन्दर्भ फरक रहेको भन्दै जवाफ दिए । ‘काठमाडौंको चाहिँ खोलाछेउको सार्वजनिक जग्गा हो । खोलाछेउमा बस्नेको चाहिँ उहाँहरूकै लागि हो । पानी आउँदा बस्तीभन्दा माथि आउँछ । हरेकपटक बर्खा लाग्दा उहाँहरूलाई निकालेर अन्त लैजानुपर्छ,’ उनले भने, ‘काठमाडौंचाहिँ जोखिममा बसेकालाई सुरक्षित ठाउँमा लैजानुपर्यो भन्न खोजेको हो । तर, गलत अर्थ लगाइयो । मान्छेको ज्यान बचाउन खोजेको हो । खोलाछेउभन्दा बाहेक त भूमि आयोग लगत संकलन गरेर नेपाल सरकारले जग्गा दिने हो । यहाँको त वास्तविक हो । ०४६/४७ देखि बसेको हो नि त ।’ 

भूमि आयोगमा पार्टीबाट टीका लगाएर गएको मान्छेका कारण सुकुमवासीले धनीपुर्जा नपाएको उनले बताए । ‘त्यो हुँदा पार्टीसँग नजिक भएकाले लाजपुर्जा पाउने भयो । बाँकीले त नपाउने भयो । त्यो सिस्टम सुधार गर्नुपर्यो भन्ने हो,’ बालेनले भने ।

यस्तै, सोही ठाउँमा बालेनलाई स्थानीयले आफ्ना र पार्टीको एजेन्डा के–के हुन् भनेर सोधेका थिए । ‘हामी मेनिफेस्टो (घोषणापत्र) तयार पार्दै छौँ । हरेकको फरक–फरक हुन्छ । स्वास्थ्यको होला, पूर्वधारको होला । सबैलाई सबै हुँदैन । व्यापार गर्नेलाई व्यापारको होला । किसानलाई खेतको होला ।  जो–जो मान्छेलाई जे–जेसम्बन्धी एजेन्डा बुझ्न मन छ, त्यो तयार पर्दै छौँ,’ बालेनले भने, ‘छुट्टाछुट्टै सबै मिलाएर फागुनको पहिलो साता सार्वजनिक गर्छौँ । यो क्षेत्रको छुट्टै हुन्छ । प्रधानमन्त्रीको छुट्टै हुन्छ । पार्टीको छुट्टै हुन्छ ।’

उनले खल्तीमा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्ने र बिस्तारै गर्दै जाने बताए । एक स्थानीयले प्रदेशमा धेरै खर्च भएको र प्रदेश संरचना खारेज गर्दा विकास बजेट हुने भन्दै सुझाव दिएका थिए । जसमा बालेनले भने, ‘प्रदेशको खर्च न्यून हो,  मन्त्रीले, सांसदको तलबमा जाने न्यून खर्च हो । तलबले देश बिग्रिएको होइन । उनीहरूले बाहिर गरेर बिग्रिएको हो ।’

बालेन कमल गाउँपालिकाको सुकुमवासी बस्तीमा बाहेक अन्य ठाउँमा बोलेनन् । उनले नागरिकका गुनासो मात्र सुने । गाउँ पुगेका बालेनले गौरीगन्जको दुर्गा मन्दिर दर्शन गरे । यस्तै, विभिन्न ठाउँको पार्टी कार्यालयमा पुगेर सर्मथकको भिडमा घन्टी बजाएका थिए । 

See More On

सुझावित समाचार