नेसनल लाइफका कर्मचारीलाई व्यावसायिक दक्षता विकास गर्न तीनदिने तालिम

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ‘ट्रान्जिसनिङ टु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स’ भन्ने नाराका साथ तीनदिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम सम्पन्न गरेको छ।

होटेल ग्रान्ड पोखरामा भएको कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली तथा विभागीय प्रमुखहरूसहित देशभरिका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका प्रशासनिक कर्मचारीहरू गरी कुल २७० जनाको सहभागिता थियो।

कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले कार्यक्रमको उद्घाटन गर्दै बिमा व्यवसाय निरन्तर रूपमा प्राविधिक विषय हुँदै गएको सन्दर्भमा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी तालिमले कम्पनीको व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने आशा व्यक्त गरिन्। उनले कार्यसम्पादन मूल्यांकनको आधारमा बेस्ट इम्प्लोइ अवार्ड– २०८२ मा उत्कृष्ट ठहरिएका सातजना कर्मचारीहरू रोहितकुमार श्रेष्ठ, जीवन बाराकोटी, नेमप्रसाद थारू, बेजोन कार्की, योगेश निरौला, नवीना खाती र रचना पराजुलीलाई नगदसहित सम्मान गरिन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले स्वागत मन्तव्यको क्रममा, दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकाले कर्मचारीहरूलाई प्रविधिमा सक्षम बनाई डाटा विश्लेषण तथा ग्राहक सेवा प्रणालीजस्ता उपकरणको प्रभावकारी प्रयोगबाट सेवा प्रवाहलाई छिटो, सरल र गुणस्तरीय बनाउन मद्दत पुग्ने गरी तालिमको व्यवस्था गरिएको बताए।

कार्यक्रममा ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले आर्टिफिसियल इन्टेलजेन्सबारे विभिन्न उदाहरण प्रस्तुत गर्दै एआईसम्बन्धी विस्तृत र गहन प्रशिक्षण प्रदान गरेका थिए।

सुझावित समाचार