पर्सामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित दुईजना नगरप्रमुख मंगलबार नेकपा एमालेमा प्रवेश गरेका छन्। वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंहासन साह तेली एमाले प्रवेश गरेका हुन्।
जिल्लास्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीमा स्वागत गरेका थिए। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवनिकट मानिएका उनीहरू उनको पछाडि लागेर पार्टी परिवर्तन गर्दै आएका हुन्।
पूर्वमन्त्री यादवले यसअघि जनता समाजवादी पार्टी नेपाल फुटाएर जनता समाजवादी पार्टीमा जाने क्रममा उनीहरू पनि साथमा थिए। मधेशवादको राजनीति छाडेर नेकपा एमाले प्रवेश गरेका पूर्वमन्त्री यादवलाई अहिले जसरी पनि चुनाव जिताउन, उनीहरू नेकपा एमाले प्रवेश गरेका हुन्।
नेताहरूका अनुसार आगामी स्थानीय तहको निर्वाचनमा दुईजनालाई एमालेबाट टिकट नपाएमा उनीहरू बाहिरिने लगभग तय नै भएको अवस्था छ।
पूर्वमन्त्री यादवले माघ ५ मा एमाले प्रवेश गरेपछि केपी ओलीसँगै वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह पनि उपस्थित थिए।