चीनको तिब्बत (सिचाङ) स्वायत्त क्षेत्रको प्रादेशिक संसद्को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी भएका छन्। उनी ल्हासामा माघ १६ गते आयोजित सिचाङ स्वायत्त क्षेत्रको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन तथा माघ १७ गते आयोजित जनवादी गणतन्त्र चीनको सिचाङ स्वायत्त क्षेत्रको बाह्रौँ जनकांग्रेसको चौथो अधिवेशन दुवैमा एक मात्र विदेशी कूटनीतिज्ञका रूपमा सहभागी भएका हुन् । कुनै पनि राष्ट्रका महावाणिज्यदूतस्तरका अधिकारी संसदमा विशेष अतिथिका रूपमा उपस्थित हुने अवसर ल्हासाका नेपाली महावाणिज्यदूतलाई मात्र प्राप्त हुने गर्दछ ।
अघिल्लो दिन माघ १६ गते भएको जनराजनीतिक परामर्शदात्री सम्मेलनमा सिचाङ सरकारकी उपाध्यक्ष चुगाले सिचाङ स्वायत्त क्षेत्रको सरकारले सन् २०२५ मा सम्पन्न गरेका मूलभूत कार्यहरूमाथि चर्चा गर्दै सन् २०२६ मा अवलम्बन गर्नुपर्ने नीतिहरू प्रस्तुत गरेकी थिइन् भने अर्का उपाध्यक्ष मेङ चिआओलिङले सन् २०२५ मा सरकारले गरेका कार्य प्रगति प्रस्तुत गरेका थिए ।
सोही सम्मेलनले निर्देश गरेअनुरूप भोलिपल्ट माघ १७ गते सम्पन्न भएको संसद्को अधिवेशनमा सिचाङ स्वायत्त क्षेत्र सरकारका अध्यक्ष गामा छेतेनले २०२५ मा सरकारले गरेका मूलभूत कार्यहरूको समीक्षात्मक जानकारी प्रस्तुत गर्दै २०२६ मा सम्पन्न गर्ने गरी ३४८.९ बिलियन युआनको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त अवसरमा चिनिया जनकांग्रेस स्थानीय समिति अध्यक्ष तथा सिचाङ स्वायत्त क्षेत्रीय जनकांग्रेस अध्यक्ष लुओ साङफ जियान काङले धार्मिक मामिलासम्बन्धी मस्यौदा नियमहरूको व्याख्या पेस गरेका थिए ।
सो अवसरमा सिचाङ स्वायत्त क्षेत्रलाई दक्षिण एसियाको उच्चस्तरीय प्रवेशद्वारको रूपमा विस्तार गर्दै गहिरो विश्वव्यापी सम्बन्धलाई बढावा दिने आफ्नो प्रतिबद्धता व्यक्त गरिएको थियो । यस वर्षको सरकारी नीति बजेट तथा कार्यक्रमले छिमेकी देशहरूसँगका सीमा विन्दुहरूमा पूर्वाधार निर्माण र विकासमा जोड दिएको हुनाले त्यसबाट नेपालले समेत लाभ लिन सक्ने देखिन्छ ।
संसद बैठकलगत्तै महावाणिज्यदूतले सिचाङ सरकारका उपमहासचिव एवं जातीय, धार्मिक तथा वैदेशिक मामिला समितिका अध्यक्ष सभामुख दान्चेन लुन्चुसँग शिष्टाचार भेटघाट गरेका थिए। भेटका अवसरमा महावाणिज्यदूतले नेपाल चीन सम्बन्धका विविध आयामहरूमाथि चर्चा गर्दै हालसम्म चीनले नेपालको विकासमा पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
उनले नेपालका संघीय तथा प्रादेशिक संसदहरूसँग सिचाङ स्वायत्त क्षेत्रको संसद्को भगिनी सम्बन्ध कायम गरी अनुभव आदानप्रदान गरी कार्य गर्दा दुवै पक्ष लाभान्वित हुन सक्ने भन्दै अध्यक्ष लुन्चुलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि अनुरोधसमेत गरे। अध्यक्ष लुन्चुले सिचाङलगायत चीनको विकासबाट नेपालजस्तो असल छिमेकी राष्ट्र लाभान्वित हुन सक्ने बताउँदै आफू र आफ्नो सरकार त्यसका लागि सदैव तयार रहेको बताए।
भेटमा द्विपक्षीय हितका अन्य विविध विषयमा समेत छलफल भएको थियो भने दुवै पक्षबिच रहेको सम्बन्ध अझ बलियो बनाउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको थियो ।