विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कास्की प्रहरीले दुईजनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका– १९, लामाचौर बस्ने वर्ष ३४ की कल्पना नहर्की पौडेल र जिल्ला मुगु खप्तड गाउँपालिका– ११ घर भई हाल पोखरा– ६ बस्ने वर्ष वर्ष २८ का वीरेन्द्र रावत रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार पक्राउ परेका उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत कुराकानी गरी आफू कानुन व्यवसायी रहेको, श्रीमान् पोल्यान्डमा होटेल सञ्चालन गरिरहेको र हाल विदेशमा आफ्नो होटेलमा किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजरलगायत विभिन्न कम्पनीमा नेपाली कामदारहरूको माग रहेकाले विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिहरूसँग कुराकानी गरेका थिए ।
कुराकानीपछि कुरा गर्नेहरूलाई उनीहरूले विश्वासमा पारी ११ जना व्यक्तिहरूबाट १० हजारदेखि दुई लाखसम्म मागी कुल १४ लाख ६० हजार उठाएका थिए । विदेश लैजाने भनी पैसा उठाएको, तर नलगेपछि उनीहरूका विरुद्ध ठगी गरेको भन्ने जाहेरीपछि प्रहरीले पौडेल र सोही घटनामा संलग्न रावतलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।