इन्फिनिटी लघुवित्तको व्यवस्थापन तालिम तथा अर्धवार्षिक समीक्षा सम्पन्न

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा प्रबन्धक कर्मचारीहरूको लागि दुईदिने तालिम सम्पन्न भएको छ। माघ १६ र १७ गते लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र बुटवल मणिग्राममा ‘युनाइटेड इन भिजन, एक्सिलेन्स इन एक्जिक्युसन’ विषयक तालिम आयोजना गरिएको हो।

इन्फिनिटी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको अध्यक्षतामा सञ्चालित उक्त तालिममा संस्थाका सञ्चालक शशी तिमल्सिना, संस्थापक अध्यक्ष बलराम विष्ट, सबै प्रदेशबाट १०० वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरू, १५ वटा अनुगमन स्टेसनका अनुगमन अधिकृत तथा केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरूको सहभागिता थियो।

कार्यक्रममा आन्तरिक लेखापरीक्षण विभाग प्रमुख कृष्णप्रसाद खनालले बैंक वित्तीय संस्थाले पालना गर्नुपर्ने प्रचलित ऐन नियम, संस्थाका पोलिसी कार्यान्वयन तथा कैफियत सुधारको अवस्था, कर्जा विभाग प्रमुख अमरनाथ सेडाईले कर्जा विश्लेषण तथा गुणस्तरीय लगानी, अनुगमन तथा असुली विभाग प्रमुख कुशल खनालले कर्जा जोखिम, खराब कर्जा व्यवस्थापन र निराकरणको उपाय, सूचना विभाग प्रमुख सुभाषकुमार गुप्ताले संस्थाको हालको वित्तीय अवस्था, सिस्टम जोखिम, प्रविधिको प्रयोग र सुरक्षाका उपायहरू, कार्य सञ्चालन तथा वित्त विभाग प्रमुख रितु बानियाँले सञ्चालन जोखिम तथा वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत पन्तले शाखा प्रमुख तथा अनुगमन अधिकृतहरूलाई हालका समसामयिक विषय, संस्थाको भावी कार्यक्रम, खराब कर्जा व्यवस्थापन विषयमा तालिमले हौसला प्रदान गरी आगामी दिनमा वित्तीय संस्थालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

सुझावित समाचार