१२ वर्षमा ५० भन्दा धेरैपटक नेपाल आवतजावत गरेका एक अमेरिकी नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ।
सन् २०१४ देखि पर्यटन, वर्किङ, व्यावसायिकलगायत विभिन्न भिसामा पटकपटक नेपाल आएका अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।
ती व्यक्तिले अन्तर्राष्ट्रियस्तरमा फन्ड उठाउने उद्देश्यले ‘नेपाल इन्टरनेसनल कलेज’को नाममा वेबसाइट बनाएर नेपालका राजनीतिक नेतृत्वसमेत टोलीमा रहेको दाबी गर्दै उनीहरूको परिचयको दुरुपयोग गर्दै आएका थिए। उनले केपी ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरी, कृष्णबहादुरलगायत १३ जनाको परिचय दुरुपयोग गरेका छन्।
यसैगरी लाइब्रेरी क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरूको समेत नाम उल्लेख गरेको अध्यागमनले जनाएको छ।
एउटै कलेजले दुई विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गर्न नसक्नेमा उनले उक्त कलेज त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनेर प्रचार गर्दै आएका थिए। सम्बन्धनको आधिकारिक प्रमाणसमेत नरहेको अध्यागमनले जनाएको छ।