नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अवधिमा बैंकले १.०३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १४.५६ प्रतिशत वृद्धि हो।
साथै, बैंकले आफ्नो कुल निष्क्रिय कर्जामा ९१ आधार विन्दुले कमी गर्दै ०८२ पुसको अन्त्यमा २.६४ प्रतिशतमा ल्याएको छ। यस्तो कर्जा गत वर्षको सोही अवधिमा ३.५५ प्रतिशत थियो।
त्यसैगरी, बैंकले आफ्नो गैरब्याज आम्दानी ०८१ पुसको अन्त्यको तुलनामा ४०.२६ प्रतिशतले उल्लेख्य वृद्धि गर्दै ७५.६९ करोड रुपैयाँबाट ०८२ पुसको अन्त्यमा १०६.१६ करोड पु¥याएको छ।
बैंकले आफ्नो पूँजी पर्याप्तता थप मजबुत बनाउँदै पूँजी पर्याप्तता अनुपात (सिएआर) २०८१ पौषको अन्त्यमा १२.८७ प्रतिशतबाट वृद्धि गरी २०८२ पौषको अन्त्यमा १४.१२ प्रतिशत पुर्याएको छ। जुन १२५ आधार विन्दुको वृद्धि हो।
बैंकले सोही अवधिमा आफ्नो कोष लागत ५.५८ प्रतिशतबाट घटाएर ४.२३ प्रतिशतमा ल्याउन सफल भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १३५ आधार विन्दुले कम हो।