महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण र सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्यजस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरूप विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो।

सोहीअन्तर्गत बैंकले लायन्स क्लब अफ काठमाडौं गुराँससँगको सहकार्यमा गन्धकुटी विहार खोकना– २१, ललितपुरमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ । स्तन क्यान्सर, सर्भिकल क्यान्सर, कोलोन क्यान्सरजस्ता क्यान्सर रोगको पहिचान, मधुमेह तथा थाइराइड रोगको पहिचान र साधारण स्वास्थ्य परीक्षण तथा दन्त परीक्षण कार्यका लागि आर्थिक सहयोग गरेको हो ।

त्यसैगरी सवारी दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन, सडक फुटपाथ तथा विभिन्न स्थानहरूमा जथाभावी रूपमा अव्यवस्थित पार्किङ समस्या समाधान गर्न ट्राफिक प्रहरी वृत्त, महाराजगन्ज, काठमाडाैंसँगको सहकार्यमा विभिन्न ट्राफिक संकेतहरू रहेको रोड फर्निचरहरू हस्तान्तरण गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दलित सशक्तीकरण केन्द्र नेपालको सहकार्यमा परम्परागत व्यावसायिक सिप, पेसा एवं कलालाई संवर्द्धन, आधुनिकीकरण र प्रमाणीकरण गर्दै क्षमता अभिवृद्धि तथा आर्थिक उपार्जन गर्नको निमित्त सहयोग गर्ने उद्देश्यका साथ हुम्ला जिल्लाको अदानचुली गाउँपालिका  १ देखि ६ वडासम्मका व्यक्तिहरूलाई सिलाइ मेसिन वितरण गरिएको छ ।

त्यसैगरी भानुपथ, सिद्धार्थनगर– ९, रुपन्देहीमा रहेको श्री भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माण गर्न बैंकको भैरहवा शाखा कार्यालयमार्फत आर्थिक सहयोग गरिएको छ । खेलमैदानमा भाष्टक राखी रोलिङ गराई पानीको निकास गर्न आवश्यक पर्ने निर्माण कार्य गर्न बैंकले सहयोग गरेको हो ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
 

सुझावित समाचार