पूर्वमन्त्री तथा संविधानसभा सदस्य जितेन्द्र देवले नेकपा (एमाले) सँगको आफ्नो राजनीतिक सम्बन्ध अन्त्य गरेका छन्। उनले सार्वजनिक रूपमा जारी गरेको लिखित वक्तव्यमार्फत अब आफू एमालेमा नरहेको स्पष्ट पारेका हुन्।
देवले पार्टीभित्र बढ्दै गएको नेतृत्वकेन्द्रित प्रवृत्ति, व्यक्तिविशेषको अतिरञ्जित महिमाकरण, निर्णय प्रक्रियामा स्वेच्छाचारिता र व्यवहारगत विभेदप्रति असहमति जनाउँदै पार्टी परित्याग गर्ने निर्णयमा पुगेको उल्लेख गरेका छन्।
उनको राजनीतिक यात्रा उतार–चढावपूर्ण रहँदै आएको छ। प्रारम्भिक चरणमा एमालेको सक्रिय राजनीतिमा रहेका देव पछि विजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा सहभागी भई संविधानसभा सदस्य बनेका थिए। उक्त दल नेपाली कांग्रेसमा विलय भएपछि देव पनि कांग्रेसमै आबद्ध भए।
कांग्रेसको तर्फबाट उनले राष्ट्रिय सभा सदस्यको रूपमा समेत भूमिका निर्वाह गरे। राष्ट्रिय सभाको कार्यकाल २० फागुन ०८० मा समाप्त भएपछि उनी १७ असार ०८१ मा पुनः एमाले फर्किएका थिए। तर, करिब केही महिनामै उनले पुनः एमालेसँगको सम्बन्ध तोडेको औपचारिक जानकारी दिएका हुन्।