एनसेलको आइएसओ मान्यता नवीकरण

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

 एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षासम्बन्धी आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पिआइएमएस) मान्यतालाई नवीकरण गराएको छ । यो नवीकरणले कम्पनीको सूचना सुरक्षा र डेटा गोपनीयतामा रहेको नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाउने कम्पनीको दाबी छ ।

ग्राहक र साझेदारका डेटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपाय कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गर्छ । त्यसैगरी, आइएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ । 

गत वर्ष एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पिआइएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको थियो । यो मान्यता र यसको नवीकरणले ग्राहकको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धतालाई पुष्टि गरेको एनसेलको भनाइ छ । नवीकरण प्रक्रियाअनुसार आइएसओद्वारा तोकिएकोे निकायमार्फत अडिटर नियुक्त गरी एनसेलमा सर्भिलेन्स अडिट गरिएको थियो । 

आइएसओ मापदण्डअनुसार मूल्यांकन गर्दै अडिटरले एनसेलका सूचना सुरक्षा तथा डेटा गोपनीयतासम्बन्धी सुशासन प्रक्रिया आइएसओद्वारा निर्धारित मापदण्डअनुरूप रहेको पुष्टि गरेको हो । यी मान्यता आगामी एक वर्षसम्म मान्य रहनेछन् । नवीकरण भएका यी मान्यताको स्कोपमा ग्राहक डेटा सेन्टर, ग्राहक सेवा र आइटी सर्भिसेजमा रहेका छन् ।

See More On

सुझावित समाचार