आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै पर्सामा चुनावी सरगर्मी बढेको छ । दलहरूले आ–आफ्नै उम्मेदवार बलियो रहेको दाबी गरे पनि मतदाता भने आफ्नो ठाउँको विकास गर्न सक्ने प्रतिनिधि छान्ने सोचमा छन् । जेन–जी आन्दोलपछि जिल्लाका प्रत्येक क्षेत्रमा नयाँ पुस्ताका उम्मेदवार मैदानमा उत्रिएपछि चुनाव थप रोचक बनेको छ ।
मतदाता विकास निर्माण र युवा पुस्ताको चाहनाअनुरूप काम गर्न सक्ने प्रतिनिधिको खोजीमा छन् । विकास र रोजगारी नै नागरिकको प्राथमिकतामा छ । अधिकांश पुरानै अनुहार उम्मेदवार बनेर मत माग्न आएपछि मतदाताले पहिलेकै बाचा सुनाउन थालेका छन् । पटक–पटक जितेर गएका नेताहरू मन्त्री बने पनि जिल्लामा विकास नभएको गुनासो गरेका हुन् । काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेपछि त्यसको असर पर्सामा पनि परेको छ । त्यसैले पुराना दलले पाउँदै आएको मत परिवर्तन हुने सम्भावना धेरै छ ।
१ मा पुराना खेलाडीहरू मैदानमा
पर्सा १ मा दल परिवर्तन गर्दै एमालेबाट उम्मेदवार बनेका पूर्वमन्त्री प्रदीप यादव लगातार तेस्रोपटक जित निकाल्ने रणनीतिमा छन् । कांग्रेसका अनिल रुंगटा भने पहिलो जितको खोजीमा छन् । ०७४ देखि यस क्षेत्रमा आफ्नो बिरासत जोगाउँदै आएको जनता समाजवादी पार्टीले यसपटक नयाँ अनुहार ल्याएको छ । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पर्सा १ बाट पराजित यादवले ०७४ र ०७९ को निर्वाचनमा जसपाबाट चुनाव जिते । कांग्रेस पर्साका नेता रुंगटाले भने हालसम्म प्रतिनिधिसभा निर्वाचन जित्न सकेका छैनन् ।
जसपा पर्साका अध्यक्ष रामनरेश यादव पनि चुनावी मैदानमा छन् । एमालेबाट विद्रोह गरी उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका युवा नेता रामकिशोर सिंह पनि चुनावी मैदानमा छन् । होटेल तथा पर्यटन व्यवसायबाट राजनीतिमा आएका रास्वपाका बुद्धिबहादुर पन्त जेन–जी आन्दोलनको मुद्दा लिएर मतदातासमक्ष पुगेका छन् ।
२ मा अधिकांश युवा उम्मेदवार
पर्सा २ मा नयाँ अनुहार धेरै छन् । कांग्रेसले यो क्षेत्रमा अजय चौरसियालाई नै उम्मेदवार बनाएको छ । ०५६ मा पहिलोपटक चुनाव लडेका चौरसिया सहायकमन्त्रीसमेत बनेका थिए । पछिल्लोपटक चौरसिया केपी ओली नेतृत्वको सरकारमा कानुनमन्त्री थिए । एमालेले २९ वर्षीय रिमा यादवलाई अघि सारेको छ । रिमा एमालेबाट देशभरकै कान्छी उम्मेदवार पनि हुन् । एमालेले ०७४ र ०७९ को निर्वाचनमा जसपासँग चुनावी गठबन्धन गरेर यो क्षेत्र छाडेको थियो । एमालेसँगकै गठबन्धनमा ०७४ मा जसपाका विमलप्रसाद श्रीवास्तवले जिते । ०७९ मा कांग्रेसका चौरसिया विजय भए ।
रास्वपाले ३६ वर्षीय सुशील साह कानूलाई उम्मेदवार बनाएको छ । उनी ०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट वीरगन्ज महानगरपालिका– १० को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । वडाध्यक्ष पदबाट राजीनामा दिएर उनी रास्वपाको उम्मेदवार बनेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले विना जैसवाल कुर्मीलाई उम्मेदवार बनाएको छ । जसपाले ६० वर्षीय अशोक टेमानीलाई उम्मेदवार बनाएको छ ।
३ मा अनुभवी मैदानमा
पर्सा ३ मा यसपटक त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसबाट उम्मेदवार बनेका सुरेन्द्रप्रसाद चौधरी राजनीतिमा अनुभवी हुन् । ०४८ देखि निरन्तर चुनाव लड्दै आएका चौधरी चारपटक सांसद निर्वाचित र पटक–पटक मन्त्री भइसकेका छन् । एमाले र रास्वपाले भने नयाँलाई अवसर दिएका छन् । एमालेले रूपेश पाण्डेलाई अघि सारेको छ । उम्मेदवार बन्नु केही दिनअघि मात्रै टिकट सुनिश्चित गरेका पाण्डेको विगतको पृष्ठभूमि राजनीति भने होइन । रास्वपाले कांग्रेसबाट प्रवेश गरेका रामाकान्तप्रसाद चौरसियालाई उम्मेदवार बनाएको छ ।
लामो समयसम्म नेपाल निर्माण व्यवसायी संघ पर्साको नेतृत्व गरेका चौरसिया पहिलोपटक संसदीय निर्वाचनमा होमिएका हुन् ।जय मातृभूमि पार्टीबाट उम्मेदवार बनेका राजकुमार यादव पनि यस क्षेत्रको पुराना अनुहार हुन् । ०७० देखि लगातार निर्वाचन लड्दै आएका यादव अहिलेसम्म निर्वाचित नभए पनि प्रत्येक निर्वाचनमा सम्माजनक मत पाउने गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीले छोटेलाल यादवलाई उम्मेदवार बनाएको छ ।
४ मा बहुपक्षीय प्रतिस्पर्धा
सदरमुकामदेखि ४० किलोमिटर पश्चिममा पर्ने पर्सा ४ मा चुनावी गतिविधि बढ्दै गएको छ । उम्मेदवारहरू कार्यकर्ता तथा मतदाता भेटघाटमा व्यस्त छन् । यो क्षेत्रमा सहरी मतदाता, उद्योगी–व्यवसायी, मजदुर तथा मध्यम वर्गको बाक्लो उपस्थिति छ । विगतको निर्वाचनमा कम्युनिस्ट र कांग्रेसबिच प्रतिस्पर्धा हुँदै आएकोमा यसपटक भने बहुपक्षीय प्रतिस्पर्धाको संकेत देखिएको मतदाताहरूको बुझाइ छ ।
कांग्रेसले ०४८ देखि लड्दै आएका रमेश रिजाललाई चुनावी मैदानमा उतारेको छ । रिजाल आफ्नो पुरानै प्रभाव कायम राख्ने रणनीतिका साथ सक्रिय छन् । पार्टी संगठन, स्थानीय तहसम्मको पहुँच र परम्परागत मत बैंक कांग्रेस उम्मेदवारको मुख्य आधार हो ।एमालेले ७८ वर्षीय उम्मेदवार जालिम मियाँ मन्सुरीलाई उम्मेदवार बनाएको छ । मियाँ ०७८ मा एमाले प्रवेश गरेर ०७९ को निर्वाचनमा कांग्रेसका रिजालसँग पराजित भएका थिए । नेकपाका ६५ वर्षीय जयप्रकाश थारू पर्साको राजनीतिमा पुराना खेलाडी हुन् । एमाले हुँदै नेकपाका उम्मेदवार बनेका उनलाई लिएर स्थानीय राजनीति बुझेका र निरन्तर संघर्षबाट उदाएका उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन् ।
तत्कालीन माओवादीको केन्द्रीय सदस्य हुँदै रास्वपा प्रवेश गरेका टेकबहादुर शाक्य उम्मेदवार बनेका छन् । जसपाले कृपासिन्धु चौधरीलाई उम्मेदवार बनाएको छ । कांग्रेस पृष्ठभूमिबाट राजनीति सुरु गरेका चौधरी जसपा प्रवेश गरेर निर्वाचन मैदानमा उत्रिएका हुन् ।
पर्सामा २४ हजार नयाँ मतदाता
जिल्ला निर्वाचन कार्यालय पर्साले मतदाता नामावली सार्वजनिक गरेको छ । मतदाता नामावलीअनुसार पर्सामा तीन लाख ७६ हजार ५१३ मतदाता छन् । ०७९ को निर्वाचनमा तीन लाख ५२ हजार ४८४ मतदाता रहेकामा २४ हजार २९ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले जानकारी दिइन् । पर्सामा महिला एक लाख ६४ हजार ४२१ र पुरुष दुई लाख १२ हजार ७७ र ‘अन्य’ मतदाताको संख्या १५ छ । जिल्लामा ४४१ मतदान केन्द र १६७ मतदानस्थल छन् ।
युवामा देखिएको परिवर्तनको चाहना कांग्रेसले जित्ने आधार हो
रामनारायण कुर्मी, उपसभापति, कांग्रेस पर्सा
कांग्रेस संगठनात्मक बल र अनुशासित कार्यकर्तालाई आधार मानेर चुनावी मैदानमा उत्रिएको छ । विशेष महाधिवेशनपछि कांग्रेस झन् एकताबद्ध भएको छ । पार्टीमा रूपान्तरण भइसकेकाले चारवटै क्षेत्रमा उम्मेदवार जित्ने रणनीतिमा लागेका छौँ । युवा मतदातामा देखिएको परिवर्तनको चाहना पनि कांग्रेसले जित्ने आधार हो ।
नयाँ उम्मेदवार उतारेकाले एमालेमाथि भरोसा बढ्दै गएको छ
विचारीप्रसाद यादव, उपाध्यक्ष, एमाले मधेश प्रदेश
पर्साका तीनवटा क्षेत्रमा नयाँ उम्मेदवार उतारेकाले एमालेमाथि भरोसा बढ्दै गएको छ । समयको मागअनुसार रूपान्तरण र पुस्तान्तरण हुने गरी उम्मेदवार मैदानमा ल्याएका छौँ । राष्ट्र जोगाउन पनि एमाले नेतृत्वको सरकार चाहिएको जनताले महसुस गरेका छन् । एमाले स्पष्ट एजेन्डासहित उत्रिएकाले चारवटै क्षेत्र जित्छौँ ।
रास्वपाले सबै क्षेत्रमा निर्वाचन जित्ने आधार बनेको छ
बुद्धिबहादुर पन्त,सभापति, रास्वपा पर्सा
अहिले देशको प्रधानमन्त्रीमा पार्टीले मधेशका युवा, लोकप्रिय अनुहार र सरकार सञ्चालन गर्ने अनुभवीलाई घोषणा गरेर अगाडि बढेको छ । जेनजी आन्दोलनपछि देशमा परिवर्तन गर्ने आवाज उठेकाले रास्वपाले जनताको व्यापक साथ पाएको छ । त्यो नै रास्वपाले सबै क्षेत्रमा निर्वाचन जित्ने आधार बनेको छ । पर्सामा पार्टी संगठन पहिलेदेखि बलियो रहेकाले यसपटक झन् सबैको सहयोग पाएकाले हामी मजबुत अवस्थामा छौं ।
चारवटै क्षेत्रमा नेकपाले जित्ने आधार बनेको छ
छोटेलाल यादव, नेता, नेकपा
एमाले र कांग्रेसले चलाएको दुई तिहाइ बहुमतको सरकार असफल भएको छ । उनीहरूको लामो समयदेखिको सरकार सञ्चालनको नालायकीपनले देशमा परिवर्तन भएको छ । त्यसकारण अहिले नेकपाले जिल्लाको चारवटै क्षेत्र जित्ने आधार बनेको हो । भ्रष्टाचार नियन्त्रण, सुशासन कायमको मुद्दा हामीले अघि सारेका छौं । जसलाई जनताले स्वीकारेका पनि छन् । अहिले नेकपाले जित्ने आधार रहेको अवस्था छ ।