निर्वाचन सुरक्षाका लागि बुधबारबाट सेना परिचालित हुने

निर्वाचन सुरक्षार्थ सेनाको ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने सरकारको निर्णय

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ नेपाली सेना मुलुकभर बुधबारबाट परिचालित हुने भएको छ । निर्वाचनको महिना दिनअघिबाटै परिचालन गर्ने योजनाअनुसार सेना बुधबारबाट परिचालित हुने भएको हो । सरकारले निर्वाचन सुरक्षार्थ सेनाको ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने निर्णय भएको छ । सोही फौज बुधबारबाट फिल्डमा देखिने गरी परिचालन हुन लागेको हो ।

परिचालित सेना एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार फिल्डमा खटिनेछन् । सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले निर्वाचन सुरक्षार्थ नेपाली सेना बुधबारबाट फिल्डमा परिचालित हुने बताए । ‘निर्वाचन हुनभन्दा एक महिनाअघिबाटै परिचालन गर्ने म्यान्डेटअनुसार सेना आगामी २१ माघदेखि फिल्डमा खटिनेछन् । यसका लागि आवश्यक सबै तयारी पूरा भएको छ । सेना एकीकृत सुरक्षा योजनाले दिएको म्यान्डेटअनुसार नै फिल्डमा खटिनेछ,’ उनले भने ।

सुरक्षा योजनाअनुसार सेना निर्वाचन सुरक्षाको तेस्रो घेरामा रहनेछ । यो भनेको प्रत्येक मतदानस्थल आसपासका क्षेत्रमा संयुक्त तथा एकल गस्ती गर्ने, भिभिआइपी तथा भिआइपी रहने निवास क्षेत्रको सुरक्षा गर्नु हो । त्यसबाहेक कारागार, सुरक्षा निकायका हेडक्वार्टर, बैंक, विमानस्थलजस्ता सामरिक महŒवका क्षेत्र सुरक्षा गर्ने जिम्मा पनि सेनाको रहनेछ । यसका लागि आवश्यक बेस स्थापना गर्नुपर्ने हुन्छ । परिचालित सेनाले पहिलो चरणमा यही काम गर्नेछ । जसका लागि आवश्यक सहयोग सेनाले जिल्लास्थित गुल्म, गण, बाहिनी र प्रदेशस्थित पृतनाबाट लिनेछ । ‘फिल्डमा परिचालित हुन सेनाले आफ्नो बेस बनाउनुपर्ने हुन्छ । बुधबारबाट परिचालित सेनाले बेस स्थापना गर्नेछ । सोही बेसबाट सेनाले निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध जुटाउनेछ । यसका लागि आवश्यक सहयोग जिल्लास्थित गुल्म, गण, बाहिनी, प्रदेशस्थित पृतनाबाट लिनेछ,’ बस्नेतले भने ।

गृह मन्त्रालयले गत ३० कात्तिकमै एकीकृत निर्वाचन सुरक्षा योजना, ०८२ स्वीकृत गरेको थियो । सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर र निर्वाचन प्रहरी गरी कुल तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मी निर्वाचनको दौरानमा खटिँदै छन् । जसअनुसार सेना ७९ हजार ७२७, नेपाल प्रहरी ७५ हजार ४९७, सशस्त्र प्रहरी ३४ हजार ५७६, निर्वाचन प्रहरी एक लाख ४९ हजार ९० र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर एक हजार ९२१ खटाउने निर्णय भएको छ ।

सेना, प्रहरी र सशस्त्रका सुरक्षा फौजबिच सुरक्षा कार्यविधि स्वीकृत भएलगत्तै संयुक्त रूपमा आवश्यक तालिम यसअघिबाटै चल्दै आएका छन् । यसक्रममा उनीहरूले संयुक्त पेट्रोलिङ, ड्रिलिङ, गस्तीलगायत तालिम लिइरहेका छन् । यसक्रममा भिभिआइपी र भिआइपी क्षेत्र तथा व्यक्तिको सुरक्षाका क्रममा अपनाइने रणनीति, निर्वाचन बिथोल्ने समूहको पहिचान र कारबाहीजस्ता विषयमा पनि उनीहरूले तालिम लिएका छन् । निर्वाचनका वेला हुन सक्ने झडप रोक्न अपनाइने आवश्यक तयारी, उम्मेदवारको सुरक्षा, मतपेटिकाको रक्षाजस्ता विषयमा पनि उनीहरूले तालिम लिएका छन् । 

निर्वाचन प्रहरीले लिए नियुक्ति 
निर्वाचन सुरक्षार्थ सरकारले मुलुकभर छनोट भएका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरीले आइतबार नियुक्तिपत्र पाएका छन् । नियुक्तिपत्र लिएकाको तालिमसमेत सुरु भइसकेको छ । उनीहरूलाई १० दिन तालिम दिइनेछ । त्यसलगत्तै निर्वाचन सुरक्षार्थ फिल्डमा खटाइनेछ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले छनोट भएका निर्वाचन प्रहरीलाई नियुक्तिपत्र दिइएको र उनीहरूको तालिमसमेत सुरु भएको बताए । उनले भने, ‘मुलुकभर छनोट भएका सबै निर्वाचन प्रहरीले आइतबार नियुक्तिपत्र लिएका छन् । उनीहरूको तालिम पनि सुरु भइसकेको छ । अब १० दिन उनीहरू तालिममा रहनेछन् । त्यसलगत्तै उनीहरूलाई निर्वाचन सुरक्षार्थ फिल्डमा खटाइनेछ ।’

सुझावित समाचार