नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट हेर्न नभ्याइने भएको छ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ तोकिएकोमा ‘हेर्न नभ्याइने’ भएको हो।
चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएपछि उनी सर्वोच्च गएका थिए। राष्ट्रपतिबाट माफी भए पनि अदालतको फैसला बदर नहुने तथा निर्वाचन आयोगको ०८० फागुन २४ गतेको निर्णयबाट चौधरी राजनीतिक दलको सदस्यसमेत बन्न अयोग्य रहेको कारण देखाउँदै आयोगले उम्मेदवारी खारेज गरेको थियो।
आयोगले लिएको आधार आफ्नो हकमा लागू नहुने दाबी गर्दै चौधरीले रिट दायर गरेका थिए। रिट निवेदनको अन्तिम किनारा लाग्न समय लाग्ने हुँदा त्यसबाट आफूलाई अपूरणीय क्षति हुने भन्दै चौधरीले अन्तरिम आदेश जारी गर्न माग गरेका थिए।