रास्वपाले यसपटक चुनावी घोषणापत्रलाई ‘बाचापत्र’का रूपमा सार्वजनिक गर्ने

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

पाँचखम्बे ‘बाचापत्र’ र लागतसहितको प्रतिबद्धता : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक चुनावी घोषणापत्रलाई ‘बाचापत्र’का रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्र निर्माण समितिको नेतृत्व गरेका उपसभापति स्वर्णिम वाग्लेले न्याय, अर्थ, निर्माण, लोककल्याण र अस्तित्व गरी पाँचखम्बे अवधारणामा आधारित बाचापत्र ल्याइने बताए । 

बाचापत्रमा योजना मात्र होइन, लागत, स्रोत व्यवस्थापन र कार्यतालिकासमेत स्पष्ट रूपमा समेटिने वाग्लेले बताए । ‘रास्वपालाई अब किन छान्ने भन्ने पाँचवटा तर्क प्रस्तुत हुन्छन् । त्यसपछि बाचापत्रको मूल खण्ड आउँछ । २२ वटा मन्त्रालयलाई १५ वटामा क्लस्टरिङ गरी पाँच खम्बामा आधारित कार्यक्रम ल्याइन्छ,’ उनले भने, ‘न्याय, अर्थ, निर्माण, लोककल्याण र अस्तित्वका खम्बामार्फत अहिले नेपाल कहाँ छ, दुई–चार वर्षमा कहाँ पुर्‍याउँछौँ र विसं २१०० सम्म कहाँ पुर्‍याउने हो भन्ने १८ वर्षे दीर्घकालीन भिजन पनि दिनेछौँ ।’

उनका अनुसार बाचापत्रमा अपिल, नक्सा, तथ्यांकीय तालिका समावेश हुनेछन् । साथै, रास्वपा सरकारमा पुगेको पाँच दिनभित्र गर्ने ५० निर्णयसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । बाचापत्र प्रदेश, पालिका र वडा तहसम्मका छलफल तथा विज्ञहरूको सुझावका आधारमा तयार पारिँदै छ । यसलाई फागुन पहिलो साता सार्वजनिक गर्ने तयारी रहेको वाग्लेले बताए । रास्वपाले सुशासन र सेवा प्रवाहलाई मुख्य प्राथमिकता बनाएको उनले स्पष्ट पारे ।

घोषणापत्र निर्माण समितिमा अरनिको पाण्डे, क्रान्तिशिखा धिताल, नन्दन यादवलगायत सदस्य छन् । यादवका अनुसार बाचापत्रमा अर्थतन्त्र, यातायात, शिक्षा, स्वास्थ्य र कृषिका विषय अन्य दलभन्दा फरक ढंगले प्रस्तुत गरिनेछ । आर्थिक समृद्धि, जेन–जीका माग, पुराना पार्टी संरचनाभित्र नयाँ पुस्ताको हस्तक्षेपलगायत विषय समेटिने बाचापत्रमा ०७९ देखि ०८२ सम्मको यात्राको समीक्षा र कमजोरीमा आत्मालोचनासमेत गरिनेछ ।

सुझावित समाचार