कांग्रेसले घोषणापत्रलाई जनताले छिटो बुझ्ने गरी बुलेट शैलीमा ल्याउने

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

विघटित संसद्को ठुलो दल कांग्रेसले घोषणापत्रलाई जनताले छिटो बुझ्ने गरी बुलेट शैलीमा ल्याउने तयारी गरेको छ । सभापति गगन थापाको नेतृत्वमा घोषणापत्र निर्माण भइरहेको छ । कांग्रेस नेताहरूका अनुसार माघ अन्तिमसम्म घोषणापत्र ल्याउने गरी काम भइरहेको छ । 

घोषणापत्र लेखनमा संलग्न उपसभापति पुष्पा भुसालका अनुसार कांग्रेसले आर्थिक उन्नति, विकास–निर्माण, सामाजिक न्याय र जेन–जीका रूपान्तरणकारी मागलाई प्राथमिकतामा राख्नेछ । चुनावी घोषणापत्रमा भिजन १० उल्लेख गर्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार सबै नेपालीले स्वामित्व लिने गरी व्यावहारिक दृष्टि समेटेर घोषणापत्र ल्याउने गृहकार्य छ । 

देशको आर्थिक उन्नति, विकास, निर्माण र समृद्धिका साथै जेन–जी पुस्ताका माग सम्बोधन गर्ने गरी घोषणापत्र तयार पार्ने जनाएको छ । ‘यथार्थपरक घोषणापत्र ल्याउँछौँ । चुनावपछि लागू हुने, प्रतिफल देखिने कार्यक्रममै हाम्रो ध्यान छ,’ भुसालले भनिन्, ‘जनतालाई बुझ्न सजिलो होस् भनेर बुलेटमा आउँछ । प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेर अगाडि बढेका छौैँ ।’

अघिल्लो निर्वाचनमा ‘कोखदेखि शोकसम्म’जस्ता लोकप्रिय तर कार्यान्वयन हुन नसकेका नाराबाट पाठ सिक्दै कांग्रेसले यसपटक महत्वाकांक्षा घटाएर कार्यान्वयन बढाउने आन्तरिक निष्कर्ष निकालेको छ । भुसालका अनुसार परिवर्तनको मुद्दा, विकास निर्माण, समृद्धिको प्रतिबद्धता, कार्यान्वयन गर्ने रणनीतिका विषय घोषणापत्रमा समेट्ने तयारी छ ।

‘नयाँ पुस्ताले खोजेका रूपान्तरणको विषय घोषणापत्रमा समेटिनेछ । त्यसका साथै महिला, दलित, पिछडिएको क्षेत्र र वर्गका विषय, आर्थिक समृद्धिसहित भौगोलिक विविधताअनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना पनि समेट्नेछौँ । सामाजिक न्यायका विषय पनि समेट्नेछौँ,’ उनले भनिन् ।

कांग्रेस मिडिया सेन्टरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले माघ अन्तिम साताभित्र घोषणापत्र सार्वजनिक हुनेसमेत बताए । ‘हाम्रो चुनावी घोषणापत्रले मुलुकको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै सुशासन, विकास र व्यावहारिक कार्ययोजनालाई केन्द्रमा राख्नेछ,’ चालिसेले भने, ‘हाम्रो घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित रहनेछैन । त्यसको कार्यान्वयनका लागि आवश्यक स्रोत, साधन र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ ।’ उनका अनुसार जिल्लाबाट सुझावसमेत मागिएको छ ।

सुझावित समाचार