एमाले अध्यक्ष केपी ओलीले संसद् पुनर्स्थापनाका रिटमा सर्वोच्च अदालतको मौनतामाथि प्रश्न उठाउँदै अविलम्ब फैसला गर्न माग गरेका छन् । पुनर्स्थापनाको माग राखेर कांग्रेस र एमालेले दुई महिनाअघि दायर गरेको अलग–अलग रिट र बहुसंख्यक सांसदले दिएको पूरक निवेदनलाई लामो समयसम्म अदालतले सुनुवाइमा नलगेका कारण गम्भीर प्रश्न उठेको भन्दै शनिबार ओलीले तत्काल फैसला गर्न ध्यानाकर्षण गरेका हुन् ।
‘यत्रो संवैधानिक प्रश्न उठेका वेला, देश यस्तो संवैधानिक संकटमा फसेको वेला अदालत चुप लागेर बस्न मिल्दैन । यस्तो मौनताले सम्बन्धित संस्थाको औचित्यमाथि प्रश्न उठ्ने स्थिति बन्छ । परेको केही काम नगर्ने, फैसला पनि नगर्ने हो भने संवैधानिक इजलास किन चाहियो, सर्वोच्च अदालत किन चाहियो भनेर प्रश्न उठ्दैन ?’ ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा ओलीले भने, ‘त्यसैले यस सम्बन्धमा सर्वोच्च अदालतले चुनावअगाडि नै अविलम्ब बोल्नुपर्दछ । के फैसला गर्ने उहाँहरूको कुरा हो । स्वतन्त्र न्यायालयलाई हामी सम्मान गर्छौँ । तर, हाम्रो आग्रह छ, निवेदन परेको थाहा नभएको, कुनै ब्युरोक्रेटिक अर्डरमा जसरी यसरी अदालत बस्न पाउँदैन । हामी अविलम्ब फैसलाको माग गर्दछौँ ।’
कहिले संसद् विघटन असंवैधानिक, तर कहिले संवैधानिक हुने हो भने पनि अदालत फैसला गर्ने दायित्वबाट पन्छिन नमिल्ने भन्दै ओलीले चुनावअगाडि नै उसले आफ्नो काम नगरेमा गम्भीर प्रश्न उठ्नेसमेत चेतावनी दिए । ‘राजनीतिक दल, संसद्का अत्यधिक बहुमत सांसदहरूले सम्मानित सर्वोच्च अदालतमा असंवैधानिक क्रियाकलाप भयो, संविधानबमोजिम गरिपाऊँ भन्ने निवेदन दिएका छन् । यस्तोमा म सम्मानित सर्वोच्च अदालतलाई आग्रह गर्दछु– यस्तोमा सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न मिल्दैन, फैसला दिनुपर्छ । चुनाव गर्ने या पुनर्स्थापना गर्ने ? हामीले पुनर्स्थापनाको माग गरिरहेका छौँ, संविधान मिचिएको छ भनिराख्या छौँ, तर सुन्दैनसुन्ने ?’ ओलीले भने, ‘अदालतले संविधान मिचिएको छैन भने छैन भन्दिनुपर्यो । मिच्न पाइन्छ भने पनि संविधान मिच्न पाइन्छ भनिदिनुपर्यो । सम्मानित सर्वोच्च अदालतको फैसला हामी मानौँला । तर, भन्नु त पर्यो नि संविधान मिच्न पाइन्छ । कहिले संसद् भंग गर्नै पाइँदैन, कहिले मजाले पाइन्छ । भनिदिनुस् न त मजाले पाइन्छ । कमसेकम अदालत चुपचाप लागेर बस्न मिल्दैन ।’
ओलीले सरकारले २१ फागुनमै चुनाव गराउँछ कि गराउँदैन भन्ने अझै टुंगो नभएकोसमेत बताए । ‘२१ गते चुनाव हुन्छ कि हुँदैन टुंगो छैन । हिमाली भेगमा मान्छे छैन । चुनावका लागि हिमाल चढ्नजस्तै अहिलेको समयमा कोही भोट खसाल्न जानेछैन । मान्छे नभएको ठाउँमा बाक्सा थापेर के हुन्छ ?’ ओलीले भने । उनले हिउँ पर्ने भूभागमा भोट नखस्ने र अनुकूल मौसममा चुनाव हुँदा एमाले, कांग्रेसजस्ता पार्टीकै पक्षमा खस्ने भएकै कारण सरकार ती क्षेत्रहरूमा जबर्जस्त चुनाव गराउने खेलमा रहेको आशंका पनि गरे । ‘उच्च पहाडी भेगमा, हिमाली भेगमा भोट हुनेवालै छैन । फेरि पनि चुनाव गर्ने भनेर लागिराख्या छ । सहरी क्षेत्रमा जस्तो उच्च पहाडी, पहाडी र हिमाली भूभागमा यस्ता प्रकारको दुष्प्रभाव धेरै फैलिएको छैन । त्यहाँ राजनीतिक दलहरू बलिया छैनन् । त्यहाँका मान्छेले भोट नहालेर, रित्तै बाकस फर्काएर के हुन्छ ? भन्ने उनीहरूलाई लागेको छ ।’