आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक भएको छ। निर्वाचन आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको हो। त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमुनासमेत सार्वजनिक गरेको हो।
उम्मेदवारको संख्याका आधारमा पनि मतपत्रको नमुना तयार भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा ठुलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको छ। एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा सानो मतपत्र छापिएको छ।