काठमाडौंमा एकैदिन तीनजनाले दुर्घटनामा ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा दुईजना मोटरसाइकलचालक र एक पैदलयात्रु छन्।
काठमाडौं महानगरपालिका– ४, सुकेधारा चोकस्थित सडकमा प्र.२–०३–००१ ख ७०३४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री काठमाडौं काभ्रेस्थली बस्ने संखुवासभा घर भएका २३ वर्षीय मिलन योञ्जनको गएराति मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपरचालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी, काठमाडौं, गोकर्णेश्वर नगरपालिका– ८, गोकर्ण जनसाहरा चोकस्थित सडकमा बा.७३प १२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलचालक काठमाडौं टोखा बस्ने नुवाकोट घर भएका २६ वर्षीय रामबहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी, काठमाडौं महानगरपालिका– ११, बबरमहलस्थित सडकमा बा.प्र ०२–०६१ प ७२३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलचालक तारकेश्वर नगरपालिका– ४ गुह्येश्वरी बस्ने धादिङ घर भएका १८ वर्षीय राहुल श्रेष्ठको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
तीनैवटा दुर्घटना रातको समयमा भएका छन्। तीव्र गतिमा सवारी चलाउने र ट्राफिक नियम पालना नगर्ने प्रवृत्तिले दुर्घटना हुने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदी बताउँछन् ।