गीतकार किरण खरेल एक लाख रुपैयाँ राशिको ‘बिजुलीमाया वःन श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार– २०८२’बाट सम्मानित भएका छन्। वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा स्थापित भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले यस वर्षको पुरस्कार खरेललाई प्रदान गरेको हो।
नेपाली गीत–संगीतको उन्नयन र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने उद्देश्यले हेटौँडाका उद्यमी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी माता बिजुलीमाया वःन श्रेष्ठको नाममा ०६४ सालमा यो पुरस्कार स्थापना गरेका थिए।
हेटौँडामा आयोजित एक सांगीतिक कार्यक्रमबिच प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलेले खरेललाई नगद रकमसहित सम्मानपत्र प्रदान गरे। नेपाली संगीत, साहित्य र कला क्षेत्रका विशिष्ट सर्जक–स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यसहित ०५९ भदौ ७ गते स्थापना भएको प्रतिष्ठानले निरन्तर रूपमा पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको छ।
प्रतिष्ठानका अध्यक्ष श्रेष्ठका अनुसार गीतकार खरेलले आफ्ना सिर्जनामार्फत नेपाली समाजका विविध पक्ष, मानवीय संवेदना र सांस्कृतिक पहिचानलाई प्रभावकारी ढंगले प्रस्तुत गरेकाले उनको योगदानलाई उच्च मूल्यांकन गर्दै यस वर्षको पुरस्कार प्रदान गरिएको हो।
सात दशकदेखि निरन्तर सिर्जनामा खरेल
०१४ सालमा ‘ए दूरका सितारा’ बोलको गीतबाट गीत–रचनामा प्रवेश गरेका खरेलले आधुनिक तथा चलचित्रका सहित सात सयभन्दा बढी गीत रचना गरिसकेका छन्। विशेष गरी चलचित्र माइतीघरका लागि लेखिएका उनका गीतहरूले नेपाली चलचित्रमा गीतको अवधारणामै परिवर्तन ल्याएको मानिन्छ। त्यसयता उनले एक सयभन्दा बढी चलचित्रका लागि गीत लेखेका छन्।
चारवटा गीतिसंग्रह प्रकाशित गरिसकेका खरेल तत्कालीन शाही नेपाल चलचित्र संस्थान तथा रेडियो नेपालमा कार्यक्रम निर्माता र सञ्चालकसमेत थिए। ‘छिन्नलता गीत पुरस्कार’लगायत विभिन्न सम्मानबाट विभूषित खरेलका माइतीघर, जिन्दगीलाई जित होइन, हिमालको काखमा छ मेरो सानो गाउँ, मन्दिरमा छ कि मूर्तिमा माया र तारा मात्र होइन तिमीलाईजस्ता गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।
‘बिजुलीमाया वःन श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ स्थापना भएयता हालसम्म खरेलसहित १७ जना प्रतिष्ठित सर्जक तथा कलाकार सम्मानित भइसकेका छन्। पहिलोपटक अमर गुरुङलाई प्रदान गरिएको यो पुरस्कार क्रमशः प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, नाट्यश्वर संगीत प्रशिक्षण केन्द्र, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, डा. किरण प्रधान, राजेन्द्र थापा र नीर शाहलाई प्रदान गरिएको थियो।